पछिल्लो केही दिनयता गोलभेडाको मूल्य निरन्तर बढिरहेको छ। नेपालमा उत्पादित गोलभेडा भारतले आयात गर्न थालेसँगै यता मूल्य बढिरहेको व्यवसायीहरूले बताउँदै आएका छन्।
भारतले नेपालबाट गोलभेडा आयात गर्न सुरु गरेको छ। भारतीय अर्थमन्त्री निर्मला सितारणमले बिहीबार लोकसभामा नेपालबाट गोलभेडा ल्याउन सुरु गरिएको बताएकी हुन्।
हाल भारतमा गोलभेडाको मूल्य आकासिएको छ। दैनिक जीवनमा व्यापक प्रयोग हुने गोलभेडाको मूल्य वृद्धि हुँदा नागरिकहरुलाई सास्ती भइरहेको छ।
सीतारमणले शुक्रवारसम्म नेपालबाट गोलभेडा आयात गरेर वराणसी, लखनउ र कानपुर पुग्ने बताइन्।
शुक्रवार (अग्रस्ट ११) मा भारतका अधिकांश राज्यमा गोलभेडाको मूल्य प्रतिकिलो १६० भारतीय रुपैयाँ तय भएको छ। तर माग बढी र आपूर्ति कम हुँदा बजारमा भने गोलभेडा २०० भारतीय रुपैयाँ भन्दा महंगोमा बिक्री भइरहेको छ। नेपालमा आज ठूलो गोलभेडाको औसत थोक मूल्य १५० रुपैयाँ छ भने लोकल सानो गोलभेडाको ६५ रुपैयाँ र टनेलको सानो गोलभेडको मूल्य ८४ रुपैयाँ रहेको छ।
भारतको इकोनोमिक टाइम्सका अनुसार वर्षातका कारण गएको बाढी पहिरो, उच्च तापक्रम वृद्धि, र गोलभेडामा भाइरस फैलिँदा अहिले गोलभेडाको मूल्य ह्वात्तै वृद्धि भएको हो।
