अहिले आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ। साना बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ, जसका कारण कतिपय स्थानमा विद्यालयमा समेत बिदा दिइएको छ।
साबुनपानीले हात धुने
आँखा पाक्ने व्यक्तिलाई छुँदा, उसले प्रयोग गरेका सामान छुँदा र आँखामा औषधि लगाइसकेपछि साबुनपानीले हात धुनुपर्छ। किनकि आँखा पाक्ने रोग आँसु र कचेराका कारण सर्ने गर्छ। यी सबै गरिसकेपछि हात धुँदा संक्रमण हुने जोखिम न्यून हुन्छ। त्यसैले हेलचेक्र्याइँ नगरी आँखा पाक्ने रोग लागेका मानिससँग प्रत्यक्ष सम्पर्कमा आउँदा हात धुने गर्नुपर्छ।
छुट्टै सुत्ने
आँखा पाकेको छ भने त्यस्ता व्यक्ति निको नभएसम्म छुट्टै कोठामा सुत्नु राम्रो हुन्छ। यसो गर्दा संक्रमित व्यक्तिको घरका अरु सामानसँग प्रत्यक्ष सम्पर्क हुन पाउँदैन र सर्ने सम्भावना कम हुन्छ। त्यस्तै आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल, तकिया, लुगा, मोबाइल, ल्यापटप लगायत सामान अरुले प्रयोग नगर्नु उत्तम हुन्छ।
मुख धुने
आँखा पाकेको बेला पटकपटक मुख धुनुपर्छ। यसबेला आँसु बगिरहने र कचेरा आइरहने भएकाले मुख धुँदा ती आँसु र कचेरा पखालिन्छन्। जसले अरुलाई सर्ने सम्भावना न्यून हुन्छ। तर आँखालाई हातमा पानी राखेर झिमझिम गर्ने वा आँखालाई बल गरेर धुने कार्य भने गर्नुहुँदैन। यसले संक्रमण बढ्न सक्छ। त्यसैले आँखा चिम्लेर दैनिक चार-पाँच पटक धुन सकिन्छ।
चश्मा लगाउने
आँखा पाकेका व्यक्तिले कालो चश्मा लगाएर बस्नुपर्छ । यसो गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । साथै आँखाको नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठ्यारो र चिडचिडापन हुने भएकाले त्यसबाट जोगाउन मद्दत गर्छ । साथै संक्रमित आँखामा थप बाह्य संक्रमण हुनबाट रोक्न पनि मद्दत गर्छ ।
एन्टिबायोटिक प्रयोग गर्ने
आँखा पाकेमा चिकित्सकलाई जाँच गराएर एन्टिबायोटिक लगाउन सकिन्छ। दिनको तीनदेखि पाँच पटकसम्म यसलाई लगाउन सकिन्छ।
भीडभाडबाट टाढा रहने
आँखा पाकेको छ भने भीडभाडमा हुने स्थान जस्तै, विद्यालय, पार्क र मलमा जानुहुँदैन। सकेसम्म घरमै बस्दा उचित हुन्छ। यसले गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ। प्राय: बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई यो रोग चाँडै सर्छ।
नेत्ररोग विशेषज्ञ डा. सुजाता भण्डारी । अनलाइनखबरबाट साभार।
