निरन्तरको वर्षाका कारण मुलुकका ५ वटा राजमार्ग अवरूद्ध भएका छन्।
सडक विभागका अनुसार वर्षाका कारण यतिबेला ४५ ठाउँमा एकतर्फीरूपमा यातायात सञ्चालनमा रहेका छन्।
विभागका अनुसार तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ।
त्यस्तै कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, तेघुवाघाट तुम्लिङ्गटार खाँदवारी नुम हुँदै किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा अवरूद्ध छ।
बालाजु–त्रिशुली–धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक नुवाकोटको निगालेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट जोड्ने सडक सल्यानको जलेखर्कमा अवरूद्ध रहेको विभागको अद्यावधिक विवरणमा उल्लेख छ।
तानसेन–रिडी–कोरला जोड्ने सडक ७ ठाउँमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
बाढी पहिरोका कारण २७ वटा राजमार्ग २ सय १३ स्थानमा अवरूद्ध हुन पुगेको थियो। हाल १ सय ६३ स्थानमा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ।
अहिलेसम्म बाढी–पहिरोबाट राजमार्गहरूमा ३९० करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको विभागले आकलन गरेको छ।