शुक्रबार, ०८ भदौ २०८०, दोलखा । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ दोबाटेमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बिहिबार साँझ करिव ५ बजे ना १ त २७६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको रामनगर गाउँपालिका २ खैरहनि घर भई हाल मेलुङ १ मा फर्निचर व्यवसाय गर्दै आएका २२ वर्षका सुवोध श्रीवास्तव र ट्याक्टर चालक मेलुङ ४ भेड्पुका २८ वर्षका हरिबहादुर थापा घाइते भएका छन्। उनीहरुको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृती अस्पतालमा उपचार भइरहेको छ। दुवै घाइतेको अवस्था खतरामुक्त रहेपनि श्रीवास्तवको बाँया हात भाँचिएको अस्पतालले जनाएको छ।
स्थानीय मिर्गे भन्ने ठाउँमा काठ लिनका लागि जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई खेतको गरामा पल्टिएको थियो। ट्याक्टरमा सवार अन्य दुइ जना भने सकुशल रहेका छन्।