विद्यार्थीले अब पाँच वर्षसम्म सच्याउन पाउने, शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि


कृष्ण बुढाथोकी

शुक्रबार, ०८ भदौ २०८०, दोलखा । विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि अब पाँच वर्षसम्म सच्याउन पाउने भएका छन्।

हिजोको मन्त्रिपरिषद् बैठकले विद्यायार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्म सच्याउन पाउने निर्णय गरेको हो। उमेर, नाम र जात सच्याउने तेस्रो संशोधन नियमावली २०८० मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। यो नियमावली पारित भएसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि सच्याउन पाउने समयावधि साढे चार वर्ष थप भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिएका छन्। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।

यस अघि विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र मात्रै नाम, जात र उमेर सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्था थियो। तर, अब विद्यार्थीले पाँच वर्षभित्र शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने छन्।

सम्बन्धित खबर