बाल सुधार गृह प्रकरण : ५७ जना उपत्यका बाहिर स्थानान्तरण


कृष्ण बुढाथोकी

सोमबार, ११ भदौ २०८०, दोलखा । बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्साको, १८ जनालाई मकवानपुरको, सात जनालाई डोटीको र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको विभागले जानकारी दिए।

स्थानान्तरण गरिएकाहरू अधिकांश १८ वर्षमाथिका छन्। सुधार गृहमा रहेका दुई सय ९७ मध्ये ४३ बालिका र किशोरी छन्। सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गर्न थालेपछि थप घटना हुन नदिन उनीहरूलाई अन्यत्र स्थनान्तरण गरेको बताइएको छ।

सुधार गृहमा अधिकांशलाई जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध, डाँका, ज्यान मार्ने उद्योग, अभ्रद व्यवहार, चोरी लगायतको मुद्दामा अदालतको आदेशले सुधार गृहमा राखिएको थियो। सानोठिमीको सुधार गृहमा रहेकामध्ये एक सय ५४ जना जबर्जस्ती करणीमा, ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए। अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्दै आएको छ।

अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ। बालबालिकासम्बन्धी ऐनको दफा ४३ ४ मा १८ वर्ष पुगेमा बानी ब्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने उल्लेख छ।

तर सानोठिमीमा रहेकामध्ये एक सय ३१ जना १८ वर्षमाथिका किशोरकिशोरी रहे पनि छुट्टाछुट्टै राख्ने व्यवस्था भने सरकारले गर्न नसक्दा सुधार गृहभित्रै अर्को अपराधका घटना होलान् भन्ने जोखिम भने रहँदै आएको छ।

केटा एक सय र केटी १० जनाको क्षमता रहेको यहाँको सुधार गृहमा तेब्बरभन्दा बढी दुई सय ९९ बालबन्दी रहँदै आएकामा ५७ जनालाई स्थानान्तण गरेको हो। यही भदौ ४ गते सुधार गृह तोडेर फरार रहेकामध्ये ६ जनाबाहेक अरूलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको थियो भने ६ जना अझै फरार छन्।

कारागार विभागका अनुसार देशभरमा बाल सुधार गृहमा एक हजार एक सय २७ बालबालिका छन्। अपराधमा मुछिएका १८ वर्षमुनिका बालबालिका राख्न मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, बाँके र डोटीमा बालसुधार गृह सञ्चालनमा रहेका छन्।

सम्बन्धित खबर