मंगलबार, १२ भदौ २०८०, दोलखा । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा निशान गाडी दुर्घटना हुँदा पाँच जना घाईते भएका छन्।
घाईते मध्ये दुई जनाको अवस्था गम्भिर छ। दुर्घटनामा परी गाडी चालक रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ का ३२ वर्षिय युनिक पाठक र सोही स्थानका धु्रव पाठक गम्भिर घाईते भएका हुन्। रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रञ्जन गिरीका अनुसार दुर्घटनामा परेका स्थानीय कुमार बसेल, कुमार योन्जन र रामशरण तमाङको अवस्था मध्यम छ। उनीहरु सबैलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
बोदलडाँडाबाट घट्टेखोलामा निर्माण भइरहेको पुलका लागि रड लिएर जाँदै गरेको बा ५ ख ४०३८ नम्बरको निशान गाडी दोरम्बा शैलुङ गाउँपालिका–२ सिस्नेरीमा दुर्घटना भएको हो। गाडी आफैं अनियन्त्रित भएर सडकबाट करिव दुई सय मिटर तल खसेको थियो।
