मंगलबार, १२ भदौ २०८०, दोलखा । लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न नेपाली मेलामा करिब सात हजारको उपस्थिति रहेका थिए। तमुधिं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना गरेको नेपाली मेलामा यस पटक कोभिड १९ पछिकै सबैभन्दा बढी सहभागिता भएको आयोजकको दाबी छ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने नाराका साथ आयोजना गरिएको नेपाली मेलामा दुई दर्जन बढी संघसंस्थाहरुले आआफ्ना मौलिक परम्परा झल्किने खालका झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए। यसका साथै नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला, पोसाक, गरगहना र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादन सहितको करिब तीन दर्जन विक्री स्टलहरू राखिएका थिए।
नौमती बाजालगायत ढोलक, डम्फु, झ्याम्टा, मादललगायतका नेपालमा लोप हुँदै गएका विभिन्न प्रकारका परम्परागत बाजागाजाको गुन्जन र नेपाली परम्परागत पोसाकमा नाचगान गर्नेको भिडले मिनी नेपालको झझल्को महसुस भएको थियो।
नेपालबाट बेलायत आएका दर्जनौँ नेपाली कलाकार, पत्रकार तथा पर्यटकहरू मेलामा नेपालको झल्को मेटाएको भन्दै हर्षित देखिन्थे।
बेलायतस्थित नेपाली संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन, आपसमा कला संस्कृतिको परिचय र युवा पुस्तामा नेपाली भाषा एवं कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले सन् २००९ देखि सुरु गरिएको नेपाली मेला १४औँ संस्करणमा पुगिसकेको छ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए।
सो अवसरमा सांसद खामवीर गर्बुजा, बेलायतस्थित बङ्गलादेश र श्रीलङ्काका कूटनीतिक प्रतिनिधि, बेलायतका विभिन्न काउन्टी तथा बरोका मेयर तथा काउन्सिलरहरु, विभिन्न बेलायती च्यारिटी तथा समुदायका प्रतिनिधिलगायतका विशिष्ट अतिथिको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान, संस्कृति र परम्परालाई बिर्सिन सक्दैनन् भन्ने सन्देश मेलाले दिएको बताए। नेपाली संस्कृति, कला, भेसभुसा र परम्परालाई प्रवर्द्धन गर्दै आपसी सद्भाव र भाइचारा बढाउन समेत मेलाले योगदान गरेकोमा उनले प्रशंसा गरे।