सोमबार, २१ साउन २०८१, काठमाडौँ। नयाँ सरकार गठनसँगै नेपालको शेयर मार्केटमा उछाल आएको छ।
कांग्रेस र एमालेको मिलेर नयाँ सरकार बनेपछि सेयर मार्केट निरन्तर उकालो लागेको हो। यो बीचमा दैनिक २१ अर्ब बढीको कारोबार हुँदा बजारमा छुट्टै रौनकता छाएको छ। बजारले निरन्तर बढ्दो गतिलाई निरन्तरता दिएको छ।
तर, यो बीचमा सत्तारुढ दलका नेता एवम् पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा देखिएको बुलिस ट्रेन्डलाई सहज रुपमा लिन नसक्ने बताएका छन्। हिजो प्रतिनिधिसभामा बोल्दै महतले ‘बुलिस ट्रेन्ड’लाई सहज रुपमा लिने अवस्था नरहेको बताएका हुन्। कुनै पनि संस्थाको नाफा तथा बिजनेस विस्तार विना नै बजार मूल्य डबल र ट्रिपल भएको भन्दै यसप्रति सरकारको ध्यान जानु पर्ने उनको सुझाव छ।
कतिपय संस्थाको भाउ अस्वभाविक रुपमा बढिरहेको र केही व्यक्तिले कम्पनीको सूचनामा पहुँच राखेर त्यसको दुरुपयोग गर्ने गरेको पूर्वअर्थमन्त्री महतले बताएका छन्। मौद्रिक नीति कहिले चाहिनेभन्दा लचक, कहिले चाहिनेभन्दा कसिलो आउने गरेकाले समस्या आउने गरेको महतको भनाइ छ।
जसका कारण आम लगानीकर्ता त्यसमा फस्ने परिस्थिति हुन सक्ने भएकाले सेयर बजारमा अस्वभाविक मूल्य बढेका कम्पनीमा गम्भीर रुपमा ध्यान दिनु पर्ने महतको सुझाव छ।