बागमती प्रदेशसभामा चारवटा विधेयक पेस, बैठक शुक्रबारसम्मका लागि स्थगित


कृष्ण बुढाथोकी

सोमबार, २५ भदौ २०८०, दोलखा। बागमती प्रदेशसभामा चारवटा विधेयक पेस भएका छन्।

प्रदेशसभाको आज बसेको बैठकमा सरकारका तर्फबाट ४ वटा विधेयकहरू पेस गरिएको हो। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस भएको छ।

यस्तै, प्रदेशसभामा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ। यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेका छन्। प्रदेशसभाको बैठकमा ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो।

बागमती प्रदेशसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ। बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले २९ गते १२ः३० बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशसभाका पूर्व सदस्य डा.राजाराम कार्कीको निधन प्रति शोक प्रस्ताव पारित गरेको थियो।

स्वर्गीय कार्की २०७४ मा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए। क्यान्सर रोगको संक्रमणबाट केही दिन अघि कार्कीको निधन भएको थियो।

सम्बन्धित खबर