मंगलबार, १९ भदौ २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा गर्ने विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन बागमती प्रदेश कमिटी अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा समिति गठन गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा बसेको बैठकले थापाको संयोजकत्वमा समिति गठन गरेको हो।
राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोध सभा गर्दैछ। विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन उपत्यकाव्यापी बृहत् विरोध सभा आयोजक मूल समिति गठन गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।
समितिको सदस्य सचिवमा प्रवक्ता एवं प्रमुख प्रमुख सचेतक ज्ञानेन्द्र शाही रहेका छन्। प्रवक्ता श्रेष्ठका अनुसार मूल समितिको सदस्यमा उपत्यकाबाट प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारी एवं सदस्यहरु, बागमती प्रदेशका १३ जिल्लाका जिल्ला अध्यक्षहरु, सम्पर्क समाज समन्वय विभागका प्रमुख, प्रवक्ता गोपाल दाहाल र सबै भातृ संगठनका अध्यक्षहरु रहेका छन्।
मूल समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
