शैलुङ गाउँपालिकाको आएन बजेटजनप्रतिनिधिको द्धन्द्धका कारण, तेस्रो पटक गाउँसभाको आह्वान


कृष्ण बुढाथोकी

बिहीबार १७ श्रावण २०८१, दोलखा। दोलखाको शैलुङ गाउँपालिकाले चालु आर्थिक वषको बजेट ल्याउनका लागि साउन २२ गते तेस्रो पटक गाउँसभाको आह्वान गरेको छ।

पटक–पटक स्थगित भएको गाउँसभा तेस्रो पटक आगामी साउन २२ गतेलाई तोकिएको हो। आगामी गाउँसभाको बैठकबाट चालु वर्षको बजेट आउने गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिए। यद्धपी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने बजेटका बिषयमा कार्यपालिकामा सहमति नजुटेका लागि गाउँसभा बस्न नसक्ने प्रतिक्रिया दिएका छन्। एमालेवाट निर्वाचित वडा अध्यक्ष दिलकुमार तामाङले बुधवार बसेको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि आफुहरु बाहिरिएको र गाउँसभा आह्वानको विषयमा कुनै सहमति नभएको बताए।

तर, गाउँपालिका अध्यक्ष श्रेष्ठले भने सकेसम्म गाउँसभाबाट सहमतिमै बजेट ल्याउने र नभए स्थानीय सरकार सञ्चालन ऐनमा भएको कानुनी व्यवस्था अनुसार भएपनि चालु वर्षको बजेट ल्याईने बताए। ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ मागाउँसभामा ५१ प्रतिशत सदस्य नपुगेमा पुनः सभा आह्वान गर्ने र २५ प्रतिशत उपस्थितिले बजेट ल्याउन सकिने व्यवस्था भएकाले सोही अनुसार बजेट आउने उहाँको दावी छ।

यसअघि पनि शैलुङ गाउँपालिकाले बजेट ल्याउन आव्हान गरेको गाउँसभादुई पटक स्थगित भैसकेको छ। चालु आर्थिक वर्ष २०८१ ०८२ को बजेट ल्याउन असार १० गते र साउन ५ गते बोलाएको गाउँसभा बैठक बजेट निर्माणमा सहमति नजुटि स्थगित भएको थियो। असार १० गते जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिष्कार गरेका थिए। साउन ५ गते बजेट ल्याउने तयारी गरी गाउँसभा बैठक बोलाए पनि सो बैठक समेत बस्दै नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो।

जनप्रतिनिधिबीचको विवादले गाउँसभा पटक–पटक स्थगित हुँदा पालिकाले चालु वर्षको बजेट ल्याउन सकेको छैन। समयमै बजेट ल्याउननसक्दा शैलुङ गाउँपालिकाको प्रशासनिक बाहेक आर्थिक कामकाज ठप्प छ। शैलुङ गाउँपालिको कार्यपालिकामा एमालेवाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेका कारण अध्यक्षलाई घेरावन्दी गरेर बजेट ल्याउनन दिएको आरोप छ।

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले भने गाउँपालिकाका अध्यक्षले पेलेर बजेट ल्याउन खोजेको दावी गरेका छन्। एमालेवाट निर्वाचित जनप्रतितिधले जनसँख्याका आधारमा समानुपातिक बजेट विनियोजन हुनु पर्ने माग गरेका छन्।

सम्बन्धित खबर