घोराही सिमेन्टले प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला गरेको छ।
कम्पनीले आज (असार २२ शुक्रबार)देखि आइपीओ पुनः बिक्री खुला गरेको हो।
यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा सबै आइपीओ बिक्री नभए असार ३१ गतेसम्म आइपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ।
कम्पनीले यसअघि आइपीओमा आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने गरि आइपीओ बिक्री खुला गरेको जनाएको छ।
कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो। कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो।
कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो। तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो।
घोराही सिमेन्टको आइपीओ प्रक्रिया स्थगित हुँदासम्म सर्वसाधारण लगानीकर्ताको करिब ४ अर्ब रुपैयाँ ब्लक भएको थियो।
सीडीएसीको तथ्यांक अनुसार आइपीओ स्थगित भएको दिन असार ४ गते सम्ममा ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७७० कित्ताका लागि आवेदन दिएका थिए।
कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आइपीओ जारी गरेको हो।
जसअनुसार यस आइपीओमा करिब १० अर्ब (९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ) बराबरको आवेदन परेको छ। जसमध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ता अर्थात् ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको सीडीएसको भनाई छ।
यसरी कुल परेको आवेदनबाट फर्जी घटाउँदा पनि करिब ३ अर्ब ९१ करोड ६३ लाख रुपैयाँभन्दा बढी सर्वसाधारणको पैसा ब्लक भएको देखिन्छ। तथापि, उक्त रकममा केही तलमाथि हुन सक्ने सीडीएसले जनाएको छ।
