रास्वपालाई बदनाम गराउन खोजिएको : सभापति लामिछाने


कृष्ण बुढाथोकी

आइतबार, २४ भदौ २०८०, दोलखा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी र आफुलाई बदनाम गराउन अनावश्यक भ्रम छर्ने कोशिस गरेको बताउ छन्।

शनिबार सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा आयोजित आम भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। डलरले पार्टी चलाएको विदेशी दलाल भनि अरुले लगाएको अनावश्यक लाञ्छना गलत भएको भन्दै पार्टीका सदस्यबाट प्राप्त भएको पैसाबाट पार्टी चलाएको धारणा राखे। सभापति लामिछानेले अरुले केही भेट्टाउन नसकेपछि भ्रम छरेको भन्दै त्यसको पछाडि नलाग्न आग्रह गरे। उनले अन्य दलका सांसदको तुलनामा रास्वपाका सांसद कमजोर नरहेको दाबी गरे।

पूर्ब गृहमन्त्री समेत रहनु भएका सभापति लामिछानेले बाटो बाटोमा उभिएर कसम खाएर हिँड्ने नेतामा आफु नपर्ने भन्दै काम गरेर देखाउने धारणा राखे। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन दोलखा आउनुभएका सभापति लामिछानेले जिल्लाको आवश्यकता र प्राथमिताकताको अध्ययन गरेर काम गर्ने प्रतिबद्धता समेत जनाएका थिए। सभापति लामिछानेले आफु झुटा आश्वासन दिन नआएको भन्दै संसारमा सही मान्छेको हातमा परेमा दोलखा हिरा रहेको प्रतिक्रिया दिएका थिए।

रास्वपाका जिल्ला सभापति पूर्णबहादुर तमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, संस्थापक केन्द्रिय सदस्य गणेश पराजुली, बागमती प्रदेश महामन्त्री जीता बराल, बागमती प्रदेश सदस्य उर्मिला भुर्तेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सम्बन्धित खबर