दोलखाका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत


कृष्ण बुढाथोकी

सोमबार, २५ भदौ २०८०, दोलखा। दोलखाका स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृतको धमाधम सरुवा तथा पदस्थापन भैरहेको छ।

जिल्लाको तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका हुन्। जिल्लाको जिरी नगरपालिका, बिगु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ भने बैतेश्वरमा भर्खरै नयाँ प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन।

जिरी नगरपालिकामा एक बर्ष ७ महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यसम्पादन गरेका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा सरुवा भएका हुन्। उनको स्थानमा जिरीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुरुषोत्तम सापकोटा आएका छन्।

बिगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरी पौडेलको भदौ १ गते सरुवा भएको हो। सो स्थान हाल रिक्त रहेको छ। यद्यपि गाउँपालिकाले आर्थिक अधिकार बाहेक शाखा अधिकृत पुजन प्रसाद अधिकारीलाई प्रशासनको सम्पूर्ण जिम्मेवारी दिएको छ। प्रशासन शाखाबाट हुने कुनै पनि काम नरोकिएको गाउँपालिकाले जनाएको छ।

बैतेश्वर गाउँपालिकामा केही दिनअघि मात्रै नयाँ कार्यकारी अधिकृतले जिम्मेवारी सम्हालेका छन्। बैतेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रमेश घिमिरे भदौ १२ गते कार्यालय हाजिर भएका हुन्। यसअघि बैतेश्वरमा गाउँपालिकाका सातौँ तहका कर्मचारी ऋषिराम ज्ञवालीलाई आर्थिक अधिकार सहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिईएको थियो।

शैलुङ गाउँपालिकामा जेठ १८ गते प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद अधिकारीले जिम्मेवारी सम्हालेका हुन्।

सम्बन्धित खबर