शनिबार, ३० भदौ २०८०, दोलखा। काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकुरी प्रहार गरी हत्या गरेकाहरुको पहिचान खुलेको छ।

अज्ञात समूहको खुकुरी प्रहारबाट मृत्यु हुनेहरुमा दोलखाका एकै परिवारका तीन जना र मोरङका एक युवक रहेका छन्। मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र करिब ७० वर्षीया आमा सुभद्रा भुजेल तथा मोरङ घर भएका १९ वर्षीय नविन राई रहेका छन्। गएराति काठमाडौंको तिनकुने गैह्रगाउँस्थित दिव्य सःमिलमा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको थियो। दिव्य सःमिल नेकपा एमाले दोलखाका नेता बालकृष्ण सिवाकोटीको सःमिल हो।

नेता सिवाकोटीका अनुसार सःमिलभित्र चार जनाको हत्या गरी एउटा कुनामा लास थुपारेको अवस्थामा फेला परेको हो। हत्या गरिएका भुजेल लामो समयदेखि परिवारसहित दिव्य सःमिलभित्रै बस्दै आएका थिए। भुजेल, उनकी श्रीमती र आमालाई सामूहिक हत्या गरिएको छ। चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको हो। हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन।