आइतबार, ३१ भदौ २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन्।
अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हिजो शनिबार अमेरिका प्रस्थान गरेका हुन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई विदाइ गर्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री प्रचण्डले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे दाहालले मन्तव्य व्यक्त गर्ने छन्। अमेरिकामा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न मुलुकका आफ्ना समकक्षीसँग भेट गर्ने छन्। असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि दाहालले सहभागी जनाउने छन्। सो भ्रमणमा प्रधानमन्त्री प्रचण्ड सहित उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल लगायत रहेका छन्।
यसैगरी, प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने तय भएको छ। चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषि लगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
