निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्।

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्।

सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन्। उनले अधिवक्ताका रूपमा र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन्। उनी २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन्।

गौतमले १५२२९ मत पाएकी छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। उनले ११४१४ मत ल्याएकी छन्।

गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन्। उनले ९४४८ मत ल्याएकी छन्।

यो पनि पढ्नुहोस्:

पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित भएकी छन्।

संविधान जारी भएपछि २०७२ देखि २०७४ सालसम्म रूपान्तरित संसदको सभामुख भएकी घर्ती काठमाडौं-२ को चुनावी प्रतिस्पर्धामा चौथो स्थानमा रहँदै पराजित भएकी हुन्।

नेपालको पहिलो महिला सभामुख घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराएकी हुन्।

२०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा-२ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनी २०७० सालमा संविधानसभाको उपाध्यक्ष भएकी थिइन्। संविधान जारी भएपछि रोल्पाका दुईवटा निर्वाचन क्षेत्र गाभिएर एउटै भएको थियो। त्यसपछि उक्त क्षेत्रमा उनका श्रीमानसमेत रहेका वर्षमान पुन उम्मेदवार बन्दै आएका छन्। उनी २०७४ मा समानुपातिकबाट निर्वाचित भएकी थिइन्।

माओवादी केन्द्रले समानुपातिकतर्फका उम्मेदवार नदोहोर्‍याउने निर्णय गरेपछि घर्ती प्रत्यक्ष निर्वाचन लड्न तम्सिएकी थिइन्। सुरूआतमा उनले रूपन्देही-१ बाट निर्वाचन लड्ने तयारी गरेकी थिइन्। तर माओवादी केन्द्रले उक्त क्षेत्रमा एमाले छाडेका घनश्याम भुसाललाई समर्थन गरेको थियो। भुसालका लागि रूपन्देही-१ छाडेकी घर्ती काठमाडौं-२ बाट उम्मेदवार बने पनि पराजित हुन पुगेकी हुन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी घर्ती नेपाली कांग्रेसको मत ट्रान्सफर नहुँदा पराजित भएको देखिन्छ।

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा उक्त क्षेत्रमा गठबन्धनका वडाध्यक्षहरूको मत २५ हजारभन्दा धेरै थियो। उक्त क्षेत्रमा स्थानीय निर्वाचनमा कांग्रेसले १४ हजार १ सय २८, एकीकृत समाजवादीले ८ हजार ७४, राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको थियो। त्यस्तै एमालेका वडाध्यक्षहरूले १७ हजार ३ सय २५ मत प्राप्त गरेका थिए।

काठमाडौं-२ मा स्थानीय तहको मत परिणामअनुसार एमाले सबभन्दा ठूलो दल थियो। तर सत्ता गठबन्धनको मत एमालेभन्दा धेरै थियो।