विहीबार, ०४ असोज २०८०, दोलखा। नेकपा एमालेका सचिव योगेश भट्टराईले शिक्षकहरुलाई सडकबाट कक्षाकोठामा फर्काउनु पर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै सचिव भट्टराईले शिक्षकहरुलाई विश्वासमा लिएर सडकबाट कक्षा कोठामा फर्काउन सरकारले ठोस पहल गर्नु पर्ने बताएका हुन्।
मन्त्रिपरिषदबाट पास भएर संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको चर्को विरोध गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु बुधबारदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन्।
सचिव भट्टराईले विधेयक निर्माण गर्दा सरकारले सरोकारवालासँग प्रयाप्त छलफल तथा समन्वय नगर्दा र पारदर्शी नहुँदा शिक्षकहरु सडकमा आउनु परेको बताए। उनले शिक्षकहरुले उठाएका कतिपय विषयहरु जायज भएकाले सरकारले सम्बोधन गर्नु पर्ने बताए। सरकारले गरेन भने संसद्ले गर्ने उनले बताए।
‘ऐन मूलतः संविधानले निर्दिष्ट गरेका सिद्धान्तको कार्यान्वयनमा केन्द्रित हुनु पर्दछ। शिक्षा विधेयकले विद्यालय शिक्षामा देखिएका तमाम विकृति र विसंगतिलाई अन्त्य गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षामा राज्यको भूमिकालाई बढाउनु पर्दछ, उनले भनेका छन्, श्रमप्रति आस्था र राष्ट्रियताप्रति गर्व गर्ने नागरिक निर्माणमा शिक्षा प्रणालीलाई केन्द्रित गर्नु पर्दछ। शिक्षाका तीन पक्ष विद्यार्थी, शिक्षक र अभिभावक बीचमा लक्ष, गन्तव्य र कार्यमा एक रूपता हुनु पर्दछ।
सचिव भट्टराईले शिक्षाको नीतिगत तथा संरचनागत सुधार र रुपान्तरण आवश्यक रहेकाले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई यसै आधारमा छलफल गर्नु पर्ने बताएका थिए।