प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता, शान्ति प्रक्रियाबारे छलफल


कृष्ण बुढाथोकी

सोमबार, ०१ असोज २०८०, दोलखा। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आइतबार अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ। दुई जनाबीच न्यूयोर्क स्थित राष्ट्रसंघको कार्यालयमा भेट भएको हो।

प्रधानमन्त्री दाहालले गुटेरससँगको भेट भएकोमा खुसी व्यक्त गरेका छन्। उनले गुटेरेससँग नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, जलवायु परिवर्तन, दीगो विकासका लक्ष्यहरू लगायतका विषयमा छलफल भएको जानकारी दिएका छन्। नेपाल र संयुक्त राष्ट्रसंघ बीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको पनि प्रधानमन्त्री दाहालको भनाई रहेको छ।

प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ न्यूयोर्क प्रस्थान गर्ने गरेका थिए। प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्ने छन्।

आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्। न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायु सम्बन्धी शिखर सम्मेलन लगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र, सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन्।

सम्बन्धित खबर