सोमबार, ०१ असोज २०८०, दोलखा। हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर आज विहान तीन बजेदेखि नै खुलेको छ।
दर्शन गर्न जाने भक्तजनहरुको सुविधाका पशुपति क्षेत्र बिकास कोषले विभिन्न दिशाबाट मन्दिरसम्म पुग्ने लाइनको ब्यवस्था गरेको छ। लाइन व्यवस्थापनका लागि स्वयंसेवकहरु परिचालन गरिएको छ भने ठाउँ ठाउँमा स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणको ब्यवस्था पनि गरिएको छ।
दर्शनका लागि कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा, पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ।
दोस्रो लाइन मित्रपार्कबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ।
यसैगरी तेस्रो लाइन भने गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। चौँथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने गरी ब्यबस्था मिलाएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ।
आज दिनभरमा लाखौं महिलाहरु पशुपति दर्शनका लागि पुग्ने कोषको अनुमान छ।
