मंगलबार, ०२ असोज २०८०, दोलखा। दोलखास्थित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको बिद्युत उत्पादन १८ घण्टा अवरुद्ध हुने भएको छ।
तामाकोशीको जलाशय सरसफाई गर्नका लागि आज विहान ४ बजेदेखि बिद्युत उत्पादन बन्द गरिएको छ। जलाशय सरसफाई गरी बाँधस्थल र बालुवा थिग्राउने पोखरीमा पुनः पानी भर्नका लागि माथिल्लो तामाकोशीको बिद्युत उत्पादन १८ घण्टाकालागि बन्द गरिएको हो। आज दिन भर ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको लामावगरस्थित बाँधस्थल ड्याम साइड र बालुवा थिग्राउने पोखरी डिसेन्डिङ वेशिन सफा गरिएको छ।
करिव १२ घण्टाको अवधिमा जलबिद्युत केन्द्रको जलाशयका संरचना सरसफाई गर्नुका साथै गोंगरस्थित बिद्युत गृहमा रहेका उपकरणको आवस्यक मर्मत गरिएको केन्द्रका प्रमुख पुर्णगोपाल रञ्जितले जानकारी दिनुभयो । उनका अनुसार जलबिद्युत केन्द्रको जलाशय प्रत्येक बर्ष सफा गर्ने गरिन्छ।
तामाकोशीको जलाशय सरसफाई गरी बाँधस्थलमा थुप्रिएको बालुवा, गिट्टि, लेदो लगायतका फोहोरहरुलाई व्यवस्थापन गरिएको केन्द्र प्रमुख रञ्जितले जानकारी दिए। माथिल्लो तामाकोशीको जलाशय सफा गर्ने क्रममा आज दिन भर तामाकोशी नदीमा पानीको वहाव बढ्ने र घट्ने भएको थियो।
जलबिद्युत केन्द्रका अनुसार अहिले जलाशयमा पानी भर्ने काम भईरहेको छ। बाँध र बालुवा थिग्राउने पोखरीमा पानी भरिसके पछि आज राति १० बजेवाट बिद्युत उत्पादन सुचारु हुने माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रले जनाएको छ।