बुधबार, ०३ असोज २०८०, दोलखा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरू व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तन गर्न असफल बनेको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले भनेका छन् जुन निर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो। जनताले हदैसम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ। तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ।

उनले थप भनेका छन्, आज म विगत ३ दशकको राजनीतिक उतार चढावमा सबै भन्दा पीडा भोगेको रोल्पामा छु। जनताले,राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन्। जनताले समृद्धिको ढोका खोजिरहेका छन्। उनीहरूले बुझेका छन् संविधान साधन हो, साध्य होइन। संविधान आफैँमा गतिशील दस्ताबेज हो। हाम्रो संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ।