विहीबार, ०४ असोज २०८०, दोलखा। नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा दोलखाका तीन जना नेताहरुले पदाधिकारीमा दावी गर्ने भएका छन्।
असोज ८ र ९ गते काठमाडौंमा हुने प्रदेश अधिवेशनमा पार्टी केन्द्रीय सदस्य समेत रहेकी दोलखाकी नेतृ रचना खड्काले प्रदेश अध्यक्ष पदमा दावी गरेकी छिन। छिमेकी जिल्ला रामेछापका नेता कैलाशप्रसाद ढुंगेलले प्रदेश अध्यक्षमा शसक्त दावी गरिरहेका बेला खड्काले पनि सो पदमा आफ्नो दावी रहेको बताइन। अध्यक्ष पदको दावी गर्ने दुवै नेता बागमती प्रदेश सरकारको पूर्व अर्थमन्त्री समेत हुन्। एमाले नेतृ रचना खड्काले प्रदेश अध्यक्ष पदका लागि लैंगिक, भौगोलिक र उमेर समुहले समेत आफ्नो योग्यता रहेको बताएकी थिइन। नेतृत्व चयनका बिषयमा पार्टीभित्र छलफल चलिरहेको र आफुले दावी प्रस्तुत गरेको उनको भनाई छ। सक्रिय बिद्यार्थी राजनीतिवाट पार्टी केन्द्रीय सदस्य बनेकी रचना युवा पुस्तामा चर्चित छन्।
दोलखा एमालेका पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले पनि प्रदेश उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समय जिल्ला पार्टीको नेतृत्व गरेका पोखरेल दोलखा एमालेका पुराना नेता मध्ये एक मानिन्छन्। पार्टीको जिल्ला अध्यक्ष हुँदै तामाकोशी गाउँपालिकाको अध्यक्ष समेत भई सकेका पोखरेलले पार्टी भित्र ठोस जिम्मेवारी पाउन सकेका छैनन्। पार्टीको कार्यकारी भूमिकामा नरहेको अवस्थामा हुने लागेको प्रदेश अधिवेशनमा पोखरेलले उपाध्यक्ष पदमा सशक्त दावी सहित नेतृत्व तहमा लविङ गरिरहेका छन्।
एमाले दोलखाका पूर्व उपसचिव डवल पाण्डेले पनि प्रदेश कमिटीको उपसचिव पदमा दावी गरेका छन्। करिव २२ बर्ष एमाले दोलखा जिल्ला कमिटी सदस्य र ९ वर्ष पदाधिकारी भई जिम्मेवारी सम्हालेका नेता पाण्डेले उपसचिव पदकालागि तिव्र लविङ गरिरहेका छन्। एमाले दोलखाको राजनीतिमा लामो समयदेखि निरन्तर क्रियाशिल रहेको र पुरानो नेता भएका कारण प्रदेशको पदाधिकारी पाउनु पर्ने पाण्डेको दावी छ। नेता पाण्डे जिल्ला समन्वय समिति दोलखाका निवर्तमान प्रमुख पनि हुन्।
एमाले प्रदेश कमिटीको सदस्यमा दोलखावाट धेरै आकांक्षी देखिएका छन्। प्रदेश अधिवेशन आयोजक समितिमा जिल्लाका २६ जना सदस्य रहेका छन्। आयोजक समितिका सदस्य सहित ३० जनाले प्रदेश सदस्यमा दावी गरेका छन्। जवकी दोलखावाट प्रदेश अधिवेशनकालागि ६४ जना प्रतिनिधि चयन भएका छन्। एमाले बागमती प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, र २ जना उपसचिव सहितन ५ पदाधिकारी रहने व्यवस्था छ भने पूर्ण कमिटी २२५ सदस्यीय हुनेछ। नयाँ नेतृत्वकालागि बागमती प्रदेशका १३ जिल्लाका नेताहरु वीच प्रतिश्पर्धा हुनेछ।
