विहीबार, ०४ असोज २०८०, दोलखा। सशस्त्र प्रहरी बल नेपालले गए राति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ। काठमाडौँको दक्षिणकाली नगरपालिका –८ कटुवाल दह स्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो।
पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए। सो बारे खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको कमान्डमा गएको १५ जना सहितको सुरक्षा फौजले रातको समयमा उनको सकुशल उद्धार गरेको हो।
मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य विधिको प्रयोग गरी उद्धार गरेपश्चात् लामालाई आफन्तको जिम्मा लगाइएको छ।