शनिबार, ०६ असोज २०८०, दोलखा। १५ लाख भन्दाबढीको नक्कली नेपाली नोटसहित संखुवासभाका दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिका ५ का विवेक राई र सोही जिल्लाको मकालु गाउँपालिका ६ का अजय राई रहेका छन्। नक्कली नोटको कारोबार भएको सूचनाको आधारमा उनीहरुलाई इटहरीबाट खटिएको प्रहरीले हिजो पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए।
उनका अनुसार उनीहरुले काठमाडौँबाट नक्कली नोट छपाई गरी इटहरीको पूर्वी बजारमा ल्याइएको पाइएको छ। चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गिरोहमा संलग्न रहेका अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको छ।
