मंगलबार, १६ असोज २०८०, दोलखा। चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो।
आजको खेलमा भारतले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो।
आजको नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अभिनाष बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन्।
प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा हङकङले पाकिस्तानको सामना गर्नेछ। त्यो खेल पनि मंगलबार नै खेलिने छ। यसैगरी अर्को क्वार्टरफाइनल खेल अफगानिस्तान र श्रीलङ्काबिच खेलिने छ। चौथो क्वार्टरफाइनल खेल बंगलादेश र मलेसियाबिच खेलिने छ। यी दुवै क्वार्टरफाइनल खेल बुधबार खेलिने छ।
