शनिबार, ०५ फागुन २०८०, दोलखा। दोलखाको जिरी नगरपालिकास्थित जेम एकेडेमीका प्रिन्सिपल भक्तराज बोहोरा बिरुद्ध आफ्नै बिद्यालयकी छात्रालाई बलात्कार गरेको अभियोगमा दोलखा प्रहरीमा किटानी जाहेरी परेको छ।
डोटी जिल्ला केदार गाउँपालिका–१ घर भई हाल जेम एकेडेमीमा प्रिन्सिपल रहेका अन्दाजी २८ वर्षीय भक्तराज बोहोरा बिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी परेको हो। पीडित किशोरी र उनका बुबा आज जिल्ला प्रहरी कार्यालय चरिकोटमा उपस्थित भई किटानी जाहेरी दिएका हुन्। आफ्नै विद्यालयका प्रिन्सिपलवाट बलात्कारको शिकार भएकी किशोरी जेम एकेडेमी जिरीमा कक्षा १० मा अध्ययरत छात्रा हुन्। विधालयकै छात्रावास होस्टलमा बस्दै आएकी ती किशोरीलाई गत माघ १२ गते प्रिन्सिपल बोहोराले डर त्रास देखाई जवर जस्ती बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। आफु बलात्कारको शिकार भए पनि प्रिन्सिपलले अरुलाई भने मार्ने धम्की दिएका कारण पीडा लुकाएर बस्न बाध्य भएको पीडित छात्राले जाहेरीमा बताएकी छिन्।
बोहोराले माघ १० गते राति छात्रालाई होस्टलवाट बाहिर बोलाएर घुम्न जाने प्रस्ताव गरे पनि उनले इन्कार गरेको र माघ १२ गते राती मदिरा सेवन गरी आएका प्रिन्सिपल बोहोराले ती छात्रालाई होस्टलवाट बाहिर बोलाई दाहिने पाखुरामा समाएर कक्षा ३ को कक्षाकोठामा लगि बलात्कार गरेको जाहेरीमा उल्लेख छ। आफ्नै प्रिन्सिपलले बलात्कार गरेपछि बिक्षिप्त भएकी पीडित छात्राले पीडालाई लुकाएर राखेको र फागुन १ गते राति करिव साँढे ९ बजे शौचालय जाने क्रममा बोहोराले जवरजस्ती गरेपछि साथीलाई घटनाका बारेमा भनेकी थिईन्। उनका साथीले परिवारका सदस्यलाई टेलिफोनवाट जानकारी दिएपछि बलात्कारको घटना बाहिरिएको थियो।
प्रिन्सिपलले नावालिक छात्रालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि जेम एकेडेमीका विद्यार्थीहरुले हिजो प्रिन्सिपल माथि कुटपिट गर्नुका साथै कार्यकक्ष समेत तोडफोड गरेका थिए। त्यस लगत्तै पक्राउ परेका बोहोरालाई इलाका प्रहरी कार्यालय जिरीले हिजै जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याएको थियो।