सहकारीका संचालक र व्यवस्थापक दोलखा प्रहरीको नियन्त्रणमा


कृष्ण बुढाथोकी

मङ्गलबार, ०१ फागुन २०८०, दोलखा। दोलखा प्रहरीले करिव ३३ लाख चोरी भएको दोलखाको पवटीस्थित हाम्रो सूर्योदय वचत तथा ऋण सहकारी सँस्था लिमिटेडका संचालकहरुलाई नियन्त्रणमा लिएको छ।

मेलुङ गाउँपालिका–१ पवटीस्थित सूर्योदय सहकारी चोरीको घटनाले नयाँ मोड लिएपछि प्रहरीले आज विहान सूर्योदयका अध्यक्षसहितका पदाधिकारी र व्यवस्थापकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दोलखावाट खटिइएको प्रहरी टोलीले सहकारीका अध्यक्ष छत्रराज कोइराला, उपाध्यक्ष पुष्पवहादुर कार्की, सचिव हरिवहादुर खड्का, सह–सचिव शिववहादुर कार्की र व्यवथापक महेन्द्र भुजेललाई नियन्त्रणमा लिई सदरमुकाम चरिकोट ल्याएको छ। केही दिनअघि ‘पोलिग्राफ’ परिक्षण गरेर पठाईएका व्यवस्थापक भुजेल पुनः पक्राउ परेका हुन्।

दोलखा प्रहरीले सहकारीका संचालक बिरुद्ध किटानी जाहेरी परेको र अनुषन्धानकालागि नियन्त्रणमा लिएको जनाएको छ। सूर्योदय सहकारीको कार्यालय रहेको पवटीको रमाइलो चोकस्थित घरका घरवेटी एवँ सो सहकारीका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेले सनिवार आत्महत्या गरेपछि सहकारी चोरीको घटनाले नयाँ मोड लिएको थियो। न्यौपानेले आत्महत्या गर्नु अघि सहकारी चोरीको घटना संचालकले गरेको नाटक भएको र व्यवस्थापक महेन्द्र भुजेल प्रमुख प्रयोगको पात्र मात्रै भएको सामाजिक सञ्जालमा लेखेका थिए। न्यौपानेले आत्महत्या गरेपछि उनका भाइ कोशिसमणि न्यौपानेले जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए। सोही आधारमा दोलखा प्रहरीले चार जना संचालक र व्यवस्थापकलाई नियन्त्रणमा लिएको हो।

व्यवस्थापक भुजेललाई यसअघि पनि प्रहरीले पटक–पटक पक्राउ गरी रिहा गर्दै आएको थियो। सहकारी चोरी प्रकरणमा सूर्योदयका अर्का एक कर्मचारी र पवटी रमाइलो चोकमा होटल व्यवसाय गर्ने अर्का एक युवक अन्जन बस्नेत पनि प्रहरीको हिरासतमा छन्। यी दुई युवकलाई प्रहरी हिरासतमा राखेको लामो समय भयो तर कुनै नतिजा प्राप्त हुन भने सकेको छैन। यी दुई युवकलाई हिरासत भित्र प्रहरीको यातना खपि नसक्नु रहेको समाचार पाप्त भएको छ।

सम्बन्धित खबर