शुक्रबार, ११ श्रावण २०८१,, दोलखा । दोलखामा एक वर्षको अवधिमा ४ हजार भन्दा बढि करदाता थपिएका छन्।
करदाता सेवा कार्यालय चरिकोटमा गत आर्थिक वर्ष मात्रै ४ हजार ९३ जना नयाँ करदाता थप भएका हुन्। सो अबधिमा सबैभन्दा बढि व्यक्तिगत प्यान पि–प्यान का करदाता थप भएका छन्। एक वर्षमा ३ हजार १९५ जना व्यक्तिगत प्यानका करदाता थप भएका हुुन्। सोही अवधिमा विजनेस समुहका ६७७, सरकारी सँघरसंस्थाहरुबाट डब्लु प्यानका ९७, मुल्य अभिवृद्धि भ्याटका ९६ र अन्तशुल्कका २८ जना करदाता थप भएका छन्।
कर अधिकृत सम्झना गौतमले नेपालमा व्यवसाय वा रोजगारी गर्ने सवैले अनिवार्य स्थायी लेखा नम्बर प्यान लिनुपर्ने व्यवस्था गरेका कारण जिल्लामा व्यक्तिगत करदाताको संख्या बृद्धि भएको बताए। उहाँका अनुसार दोलखामा हाल २१ हजार २ सय ५६ करदाताले कर तिर्दै आएका छन्। त्यसमध्य सबैभन्दा बढि विजनेस समुह आई ट्याक्सका १० हजार ८१ करदाता रहेका छन्। जिल्लामा हाल ९ हजार २३७ करदाताले पि प्यान लिएर कर बुझाउँदै आएका छन् भने भ्याटका १ हजार २०९, अन्तशुल्कका ४३२ र डव्लु प्यानका २९७ करदाताले कर तिर्दै आएका छन्।
गत आर्थिक वर्ष दोलखामा २१ हजार २ सय ५६ करदाताबाट विभिन्न शीर्षकमा ३४ करोड ९६ लाख २९ हजार ७५१ रुपैयाँ राजस्व संकलन भएको करदाता सेवा कार्यालय चरिकोटका सुपरभाईजर सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन। सरकारले आर्थिक वर्ष २०७६/७७ बजेट वक्तव्यमा ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो। जस अनुसार उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने बील वीजक, खाता, कागजात तथा आय विवरणजस्ता कर सम्वन्धी सम्पूर्ण विवरणमा प्यान अनिवार्य गरिएको छ।
यसैबीच, आय विवरण बुझाउन बाँकी रहेका तथा कर विवरण पेश नगर्ने र करको दायरामा आउन चाहने करदातालाई छुट तथा सहुलियत हुने भएको छ। आर्थिक ऐन २०८१ ले विगतमा कर लाग्ने आयआर्जन गरेपनि स्थायी लेखा नम्वर नलिएका तथा स्थायी लेखा नम्वर लिई आय विवरण बुझाउन बाँकी करदातालाई आगमी फागुन मसान्तभित्रमा कर बुझाएमा जरिवना, थप दस्तुर तथा व्याज मिनाह हुने व्यवस्था गरेको हो।