सोमबार, २१ साउन २०८१, ललितपुर । वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ।

वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरू भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा हिजो जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो।

हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने प्रचलन छ।

बाह्र वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने प्रचलन भए पनि अन्य वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले बताए।

आज राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले भोटो जात्रा अवलोकन गरेका थिए।

राष्ट्रपति राम्रचन्द्र पौडेल, प्रधामन्त्री ओली लगायतलाई ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए।

राष्ट्रपति र प्रधानमन्त्री लगायत शीर्ष व्यक्तिहरूले अवलोकन गरेको जात्रामा गुठी संस्थानका कर्मचारीहरूले भोटो देखाएका थिए। जावलाखेलमा भोटो देखाए पछि यो वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ। रातो मच्छिन्द्रनाथको रथ जात्रा काठमाडौँ उपत्यकाकै लामो जात्रा हो।