बिहीबार, ३१ साउन २०८१, हेटौँडा। सिन्धुलीमा वन अतिक्रमण तिव्र रुपमा भएको छ।

बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुलीमा सबैभन्दा बढी ६ हजार ४ सय ४ दशमलव ८७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको हो। पछिल्लो समय सिन्धुलीमा सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ। जिल्लामा हजारौँ हेक्टर वनक्षेत्र अतिक्रमण गरि बस्ती पनि बसेको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ।

यस्तै, मकवानपुरमा ३ हजार ५५६ दशमलव ९६,चितवनमा १ हजार ६८८, रामेछापमा ४९५ दशमलव ५, काभ्रेपलाञ्चोकमा २५८, धादिङमा २४६ दशमलव ९६,नुवाकोटमा ९३ दशमलव ९४, सिन्धुपाल्चोकमा ७८ दशमलव ९०, दोलखामा ४४ दशमलव ८५, रसुवामा ३६ दशमलव २७, ललितपुरमा ३० र काठमाडौंमा १३ तथा हेक्टर बन क्षेत्र अतिक्रमणमा परेको छ।

यसैबीच, दोलखामा १७ दशमलव १० हेक्टर अतिक्रमित जमिनलाई वन क्षेत्र कायम गरिएको छ। बागमती प्रदेशभर ४ हजार ५३४ वटा सामुदायिक वन, ३ हजार ३३६ कबुलियति वन, ४९ वटा धार्मिक वन र ६७३ वटा निजी वन रहेको निर्देशनालयले जनाएको छ। गत आर्थिक वर्ष २०८०÷८१ सम्म अद्यावधिक तथ्यांक अनुसार हालसम्म बागमती प्रदेशमा १२ हजार ९४६ दशमलव ७९ हेक्टर वन क्षेत्र अतिक्रमण भएको हो।

वन अतिक्रमणको एकीकृत तथ्यांक पहिलो पटक तयार पारेको डिभिजन वन अधिकृत रामकुमार भण्डारीले जानकारी दिए। व्यक्तिका अलावा स्थानीय तहहरुले भवन निर्माण र खेलकुद मैदानसहित अन्य पूर्वाधारका संरचना निर्माणका क्रममा बढी अतिक्रमण गरेका छन्।

वन संरक्षण क्षेत्र २ वटा रहेको निर्देशनालयका सूचना अधिकारी गोविन्द अर्यालले जानकारी दिए। उनका अनुसार बागमतीको कुल क्षेत्रफलको ५३ दशमलव ७३ प्रतिशत वन क्षेत्र रहेको छ। प्रदेश मन्त्रालय, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन, प्रहरी लगायतको सक्रियतामा मात्रै अतिक्रमण रोक्न र अतिक्रमित जमिन वन क्षेत्र कायम गर्न सम्भव हुने बताइएको छ।

आवरण तस्वीरः कालिञ्चोकको कुरीमा अतिक्रमण गरी बनाइएका होटल तथा रिसोर्टहरु