Guangzhou International Travel Fair (GITF)

काठमाडौँ – चीनको ग्वाङ्झाउमा आयोजित ‘ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेला’मा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ (सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य) को सम्मान प्रदान गरिएको छ। मे २१ देखि २३ सम्म सञ्चालन भएको उक्त मेलामा नेपालको प्राकृतिक सौन्दर्य, अद्वितीय आध्यात्मिकता, सांस्कृतिक विविधता र साहसिक पर्यटनको आकर्षणलाई कदर गर्दै यो अवार्ड दिइएको हो।

‘नेपालः जीवनभरको अनुभव’ नारासहित प्रवर्द्धन

नेपाल पर्यटन बोर्डको समन्वयमा भएको यस सहभागितामा नेपालले ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ (नेपालः जीवनभरको अनुभव) भन्ने मूल नारा अघि सारेको थियो। मेला अवधिभर चिनियाँ तथा अन्तरराष्ट्रिय आगन्तुक र ट्राभल व्यवसायीहरूलाई नेपालका निम्नलिखित क्षेत्रबारे जानकारी गराइएको थियो:

  • सांस्कृतिक तथा धार्मिक पर्यटन
  • साहसिक तथा आउटडोर गतिविधि
  • लक्जरी र वेलनेस पर्यटन

चिनियाँ बजार र नेपालको रणनीति

हङकङ तथा ग्रेटर वे एरिया नजिकै रहेको ग्वाङ्झाउ सहर चीनको प्रमुख व्यापारिक र पर्यटन केन्द्र हो। त्यसैले यस क्षेत्रलाई नेपाली पर्यटन प्रवर्द्धनका लागि निकै महत्त्वपूर्ण बजार मानिएको छ।

विशेष प्रस्तुति र प्यानल छलफल: मेलाको उद्घाटनकै दिन (मे २१) नेपाली सांस्कृतिक नृत्य र नेपालका गन्तव्यहरू समेटिएको विशेष प्रस्तुति दिइएको थियो। सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना र प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ दिनुका साथै पर्यटन बजार विस्तारसम्बन्धी प्यानल छलफलमा समेत भाग लिएका थिए।

नेपाली व्यवसायीको सहभागिता र सिधा उडानको फाइदा

यस अन्तरराष्ट्रिय मेलामा नेपालका आठवटा पर्यटन व्यवसायी कम्पनीहरूले सहभागिता जनाएका थिए। उनीहरूले चिनियाँ एवं अन्तरराष्ट्रिय व्यवसायीहरू माझ ट्रेकिङ, टुर, होटल तथा आतिथ्य सेवासम्बन्धी विभिन्न आकर्षक प्याकेजहरू प्रस्तुत गरे।

हाल नेपाल वायुसेवा निगमचाइना साउदर्न एयरलाइन्सले काठमाडौँ–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन्। यो सिधा हवाई सम्पर्कले दुई देशबीचको पहुँचलाई सहज बनाउँदै आगामी दिनमा चिनियाँ पर्यटकको आगमन उल्लेख्य बढाउने विश्वास नेपाल पर्यटन बोर्डले व्यक्त गरेको छ।