विमानस्थलमा एक जना यात्रुलाई पुर्‍याउन ३ जना भन्दा बढी जान नपाइने


अनलाईन बुलेटिन संवाददाता

यात्रु लिन र पुर्‍याउन आउने आफन्तको भीडभाड नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नयाँ मापदण्‍ड कार्यान्वयनमा ल्याएको छ।

विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापन गर्न अप्ठ्यारो भएपछि कार्यालयले यो मापदण्ड कार्यान्वयन गरेको प्रवक्ता टेकनाथ सिटौलाले बताए।

‘एक जना यात्रु पुर्‍याउन र लिनका लागि झण्डै आधा दर्जन आफन्त आइरहेका छन्। यसो हुँदा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भीडभाड व्यवस्थापन गर्न गाह्रो भइरहेको छ,’ प्रवक्ता सिटौलाले भने,’यो सँगै विमानस्थलमा आउजाउ गर्दै आएका सवारी साधन ट्राफlक व्यवस्था गर्न पनि गाह्रो भइरहेको छ। त्यसै कारण यो मापदण्ड लागू गरिएको हो।’

उनका अनुसार यतिखेर अन्तर्राष्ट्रियतर्फ दैनिक ८८ वटा उडान अवतरण भइरहेको छ भने १२ हजार भन्दा बढी यात्रु ओहोरदोहोर गर्छन्। अन्तर्राष्ट्रिय तर्फको उडान यतिखेर सामान्य अवस्थाको ९५ प्रतिशत लयमा फर्किसकेको उनले जानकारी दिए।

सम्बन्धित खबर