रास्वपाको बैठक बस्दै, सरकारमा जाने : नजानेबारे छलफल


कृष्ण बुढाथोकी

२२ बैशाख २०८०, शुक्रबार
दोलखा । सरकारमा जाने, नजाने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले आज शुक्रबार छलफल गर्दैै छ।

साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने विषयबारे छलफल गर्ने कार्य सूची रहेको सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन।

‘आजको बैठकमा सरकारसँग सम्बन्धित विषयमा छलफल हुन्छ,’ उनले भने, ‘अरू कार्यसूची केहि तय गरिएको छैन तर समसामयिक राजनीति परिदृश्यबारे छलफल हुने जानकारी दिए।’ यस अघि गत सोमबार रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो।

बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए।

लामिछानेले केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग पनि राय मागेका थिए।

आजको बैठकले सरकारमा सहभागी हुने या प्रतिपक्षमा बस्ने निर्णय गर्ने केन्द्रीय सदस्यहरूले जानकारी दिने छन्।

सरकारमा सहभागी हुने रास्वपाले साविककै मन्त्रालय उपप्रधानसहित गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य राज्यमन्त्री पाउनुपर्ने अडान राखेको छ। त्यस्तै सरकारको न्यूनतम साझा कार्यक्रम पुनःलेखन हुनुपर्ने, मन्त्रालयका काममा प्रधानमन्त्रीको कुनै पनि हस्तक्षेप हुन नहुने र सरकारको स्थायीत्वको शर्त पनि अघि सारेको छ।

यी शर्त पूरा गर्न प्रधानमन्त्री तयार भए पार्टी सरकारमा जान तत्पर रहेको रास्वपाले खुलाएको छ।

यस्तै सत्ता गठबन्धन दलले रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डलाई नै जिम्मा दिएको छ।

गठबन्धन घटक दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउनेबारे एक खालको सहमति भइसकेको जानकारी दिदै आएका छन्। रास्वपालाई सरकारमा सहभागी गराउने सन्दर्भमा कांग्रेस पनि सकारात्मक रहेको देखिन्छ।

बिहीबार बसेको माओवादी पदाधिकारी बैठकमा यसबारे छलफल भएको सचिव देवेन्द्रै पौडेलले जानकारी दिएका थिए।

रास्वपालाई सरकारमा सहभागी गराउँदा सत्ता गठबन्धन बलियो रहने र सरकारको प्रभावकारिता बढ्नेमा पदाधिकारी एक मत देखिएको भनाइ छ। त्यसो त, वैकल्पिक गठबन्धन नबनोस् भनेर पनि रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले जोड गरेको खुल्न आएको छ ।

रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भइरहँदा दुई दिन अघि मात्रै मन्त्रिपरिषद् बैठक नवौँपटक विस्तार भएको र रास्वपा आउने हुँदा मिलाउने ठाउँ बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको थिए।

‘प्रधानमन्त्रीको मनसाय उहाँहरूलाई पनि मिलाएर लैजाऊँ भन्ने नै छ। उहाँहरूले के निर्णय गर्नुहुन्छ, त्यसमै भर पर्छ’ प्रचण्डको सचिवालय भन्छ, ‘उहाँहरू आउने हुँदा विभिन्न विकल्पमा छलफल गर्न सकिन्छ।’

सम्बन्धित खबर