मङ्गलबार, ०८ असोज २०८१, हेटौंडा। बागमती प्रदेशसभाले तीनवटा विधेयक सर्वसम्मतिबाट पारित गरेको छ। हिजो सम्पन्न प्रदेशसभा बैठकमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएका हुन्।
बैठकमा स्वास्थ्य मन्त्री किरण थापा मगर, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठ, र उद्योग, वाणिज्य, भूमी तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले सम्बन्धित विधेयकहरू पेश गरेका थिए।
छलफलपछि तीनवटै विधेयक पारित भएको र अब बागमती प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्।