२१ फाल्गुन २०७९, आईतवार, दोलखा । दोलखाका नव निर्वाचित सांसदहरु पहिलो पटक एउटै मञ्चमा देखिएका छन् ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि शुक्रवार पहिलो पटक दोलखाबाट निर्वाचित सांसदहरुलाई एउटै मञ्चमा देखिएको हो । जिल्लाका सांसदहरुलाई एकै ठाउँमा भेला गर्ने संयोग दोलखा सदरमुकाम चरिकोटमा शुक्रवारबाट सुरु भएको दोलखा महोत्सवले जुराएको हो । महोत्सवको उद्घाटन कार्यक्रममा बहालवाला सांसद र पूर्वमन्त्रीहरु एउटै मञ्चमा देखिएका थिए । प्रतिनिधिसभाका सांसदद्धय गंगा कार्की र सोविता गौतम, प्रदेशसभाका सांसद भरत बहादुर केसी र मोनिका श्रेष्ठ एउटै मञ्चमा थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभामा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गौतम निर्वाचित भएकी थिइन् ।

यस्तै बागमती प्रदेशसभामा नेकपा एमालेको तर्फबाट केसी र राप्रपाको तर्फबाट श्रेष्ठ समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । उनीहरु एउटै मञ्चमा देखिएको यो पहिलो पटक हो । दोलखाको तामाकोशी गाउँपालिका स्थायी घर भएकी संघीय सांसद गौतम काठमाडौंवाट निर्वाचित भएपनि गृहजिल्लाको कार्यक्रमलाई प्राथमिकता दिएर आएकी हुन् ।
यस्तै, पूर्वमन्त्रि आनन्दप्रसाद पोखरेल, वागमती प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्का पनि कायत्र्रममा सहभागी भएका थिए । संघीय सरकारका पूर्वमन्त्री पार्वत गुरुङ र बागमती प्रदेशका वहालवाला सांसद कुन्दनराज काफ्ले भने महोत्सवको उद्घाटन कार्यक्रममा देखिएनन् । नेकपा एमालेले पूर्वमन्त्री पार्वत गुरुङलाई पार्टीले सञ्चालन गरेको ग्रास रुट अभियानका क्रममा हेटौंडा उपमहानगरमा खटाएका कारण गुरुङ कार्यक्रममा नदेखिएका हुन् ।
सत्ता गठबन्धनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने अभियान अन्र्तगत शुक्रवार काठमाडौंमा बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम राखेकाले आफु दोलखा महोत्सवको उद्घाटन कायक्रममा सहभागी हुन नपाएको प्रदेशसभा सांसद काफ्लेले बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतक भएकाले काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुनैपर्ने बाध्यताका कारण कार्यक्रममा आउन नपाएको काफ्लेको भनाई छ ।
