मंगलबार, २६ असार २०८०
दोलखा । गत साउनदेखि जेठसम्म रेमिट्यान्स उल्लेख्य बृद्धि भएर आएको छ। ११ महिनामा मुलुकमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले मात्रै बढेको थियो। तर गत आ.ब.को तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको छ।
अमेरिकी डलरमा पनि रेमिट्यान्स १३ प्रतिशतले बढेर ८ अर्ब ५१ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो। एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले बढेको छ। गएको ११ महिनामा ४ लाख ५९ हजार ४ सय १५ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो।
