मंगलबार, २३ साउन २०८०, दोलखा । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको अन्दोलन हिजो सोमबारबाट शुरु भएको छ।

जस अनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद भवन अगाडि सम्म सिठ्ठी जुलुश गरेका थिए। महासंघका अध्यक्ष रवि सिंह नेतृत्वमा रहेको सोही जुलुश बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोण सभामा बदलिएको थियो।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहनु भएका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले व्यवसायीहरूको रकम तत्काल भुक्तान गर्न सरकारसँग माग गरे। निर्माण व्यवसायीहरूको रकम भुक्तान हुनुपर्ने विषयमा आफूले संसदमै कुरा उठाइसकेको स्मरण गराउँदै शाहीले अब अर्थ समितिमा पनि यो विषय प्राथमिकता सहित उठान गर्ने प्रतिबद्धता जनाएका थिए। मुलुकको कर्मचारीतन्त्रका कारण पनि निर्माण व्यवसायीहरू मारमा परेको उहाँको भनाइ थियो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गर्नुपरेको बताएका थिए। म्याद थप मात्र समस्याको समाधान होइन भन्दै अध्यक्ष सिंहले म्याद थपसँगै भुक्तानीको व्यवस्था नहुँदा निर्माण उद्योगको समस्या जटिल हुँदै गएको धारणा राखे। महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए।

महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले हिजो सोमबारको विरोध कार्यक्रमलाई आगामी शुक्रवारसम्म निरन्तरता दिइने जानकारी दिए। घिमिरेले शुक्रवारसम्म पनि माग पूरा नभए साउन २८ बाट तेस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरिने बताए। साउन २८ सोमबारदेखि अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ। त्यस्तै विकासे विभागहरूमा पालैपालो विहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ।

महासंघको जारी आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका नीजि क्षेत्रका विभिन्न संघ संस्थाहरूले ऐक्वद्धता जनाइसकेका छन्।