मंगलबार, ३० साउन २०८०, दोलखा ।
दोलखाको मेलुङ घर भएका दिलिपले एक वर्ष अगाडि आफैँले मन पराएर भित्र्याएकी श्रीमतीलाई अहिलेसम्म चार आना सुनको मुन्द्री दिन सकेका छैनन्।

गाउँमा रहेकी श्रीमती समेत चकित छिन्, कानमा एक जोर मुन्द्री झुण्डाई दिन नसक्ने श्रीमानले सय किलो सुन किनेर ल्याए भन्ने सुन्दा। नहुन पनि किन, दिलिपको नाममा रहेको कम्पनीले नेपाल भित्र्याएको सुनको मूल्य एक अर्बभन्दा बढी मूल्यको छ। एक

अर्ब कति हो उनको परिवारलाई पत्तो छैन। मान्छेले अनुमान लगाउँदा अर्बौं सुनका मालिकको सान सौकत कम छैन होला भन्छन् नै। महँगो गाडी, आलिसान महल यस्तै अनुमान लगाउँछन्। तर, उनी भने सय किलो सुन तस्करी अभियोगमा पक्राउ पर्दाका केही घण्टा अघिसम्म मासिक पाँच हजार रुपैयाँमा मजदुरी गर्थे। पक्राउ पर्दासम्म न सुनको पत्तो पाए न तस्करी के हो भन्ने नै।

दिलीपलाई के थाहा कुनै दिन आफैँले बनाएको नागरिताको सही प्रयोग गर्न नसक्दा यो हविगत बेहोर्नु पर्ला भनेर। आखिरमा सबै व्यवहारिक ताजोपाजो त अर्कै तर्फ मोडिदै गएको छ।

उनका मामा रामकुमार भुजेलले एकदिन भनेका रहेछन्। भान्जा तिम्रो नाममा एउटा कम्पनी खोल्नुपर्यो, ‘२० हजार आउँछ। महिना भरी काम गरेर पाँच हजार कमाउने उनका लागि २० हजार ठूलै रकम थियो। केही गर्नु पर्दैन, नागरिकता दिएर केही कागजमा सहि गरे हुन्छ।’

मामाले यति भनेपछि उनी लोभिए। सित्तैमा पाइने २० हजार उनले जीवनका लागि ठूलै ठाने। यता आफ्नै मामाले ल्याएको प्रस्तावमा उनले दायाँ दायाँ केही सोचेनन्। मामाको चिनजानमा रहेका भोजपुरका हर्कराज राईले भनेअनुसार गरिदिए। त्यहि २० हजार उनको लागि ठूलो अभिषाप भएको छ अहिले।

केही समय पहिलासम्म ज्यामी काम गर्ने दिलlप दुई महिना अगाडिबाट साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा चाउमिन तयार पार्ने र बजारमा लगि बिक्री गर्ने काम गर्दै आएका थिए।

त्यहाँ उनले खाने बस्ने सुविधा सहित महिनाको पाँच हजार पाउने गरी काममा लागेका थिए। उनलाई चाउचाउ बनाउने ठाउँमा काम सिकौँला र आफैँ केही गरौँला भन्ने लोभ पनि थियो।

तर उनको लोभ लामो समय टिक्न पाएन। भर्खर बिहे गरेकी श्रीमती गाउँमा छोडेर धन कमाउने लोभमा आएका उनको अहिले प्रहरी हिरासतमा बास छ। उनले सुन तस्करी गरेको पत्याउन सबैलाई गाह्रो छ। उमेर र अनुभवले अल्लारे दिलिप बाबु भेट्न जाँदा निरीह बन्छन्।

यो संकटबाट कसरी उम्कने हो थाहा छैन उनीहरूलाई। न त बाबु छोराका बीचमा नै त्यस्तो केही कुरा हुन्छ।

दिलीपका बुबा रामबहादुर बिहान ६ बजेदेखि रत्नपार्क रानीपोखरी छेउमा काम पाइन्छ कि भनेर ढुकेर बस्छन्। ‘बिहान ६ बजेदेखि रत्नपार्कमा कामको खोजीमा ढुकेर बस्छु भन्छन्। यो कुरामा कति सत्यता छ, कति झुटो छ सगै साथमा हुने गाउँले साथीहरुलाई मात्र थाहा छ।

भुजेलका बुबा राम बहादुर भन्छन, ‘त्यहाँ म जस्ता एक डेढ सय हुन्छौँ। कोही मान्छे आफ्नो नजिक आउँदा पनि कामदार खोज्न आएकी भन्ने आशा लाग्छ। कहिले काम पाउछौँ कहिले त्यसै फर्कन पर्छ।’

काम पाएको दिन उनले हजार १२ सय कमाउँछन्। बाबुको दैनिकी यस्तो छ। उता छोरा सुन तस्करीको आरोपमा हिरासतमा, उनले मलिन अनुहार बनाउँदै भने, ‘मेरी श्रीमतीको नाक कानमा एक साना मुन्द्रा छन्, त्यो पनि उनको माइतीले दिएको, मैले त केही दिन सकेको छैन। बिहान बेलुकाको छाक टार्नै मुस्किल छ। कसरी जोड्नु सुन। बुहारीलाई चाहिँ बाबु छोराले कमाएर कान भरि दिउला भन्ने थियो।’

उनले घरको अवस्था सुनाए। दुई पोका नुन एकैपटक बोक्ने आँट नभएका उनीहरू यति बेला सुन तस्करको आरोप झेल्दै छन्। फोटामा देखाइएका सुन हो रे भन्दा अचम्म मान्छन्। एक बोरा भरी चामल किन्न मुस्किल पर्ने उनले पत्याउन पनि कसरी।

दिलीपका बुबाले भने, ‘धन कमाउने धनी, सास्ती भोग्ने गरिब भएको छ। हुन पनि उनी कानुनी रूपमा नराम्रोसँग फसेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ करिब एक सय किलो सुन बरामद हुँदा सुनसँग ‘कनेक्सन’ देखिएका हर्कराज राई बुढानीलकण्ठमा थिए। भोजपुरको अरुण गाउँपालिका–४ घर भएका ४९ वर्षीय हर्कराज केही समयदेखि बुढानीलकण्ठमा बस्दै आएका थिए।

अहिले उनी पनि हिरासतमा छन्। दिलिपका बुबाले भने, ‘पक्राउ पर्नु केही दिनअघि छोरोका नागरिकता पनि उनीहरूले लगेका रहेछन्। किन लगे भन्ने बारेमा उनलाई थाहा छैन। पक्राउ पर्ने र दोषी देखिएका मध्ये उनले चिनेको आफ्नै जेठान मात्रै हो। अरू को हुन् कहाँका कुन उनलाई केही पत्तो छैन। समाचारमा आएको नाम सुनेका मात्रै हुन्।’

पक्राउ पर्नु अघि दिलीपकी ठुलीआमाका अनुसार उनले मंगलबार र बुधबार दिनभर फ्याक्ट्रीमै काम गरेका थिए।

साँझपख उनी चाउमिन डेलिभरीमा हिँडेका थिए। ‘बुधबार पनि साँझ सामान डेलिभरी गरेर डेरामा फर्किएको थियो। कसैलाई भेट्न भनेर १० बजेतिर बाहिर निस्किएको हो, अरू कुरा हामीलाई थाहा भएन, ठुलीआमाले भनिन्।

त्यसपछि उनलाई प्रहरीले पक्राउ गर्यो । पत्याउन कठिन कुरो यहि हो, महिनाको पाँच हजारमा काम गर्ने ठिटोले अबौँको सुन तस्करी कसरी ग¥यो भन्ने। नागरिकता दिए वापतको २० हजार उनको घाँटीमा अड्किएको बल्छी जस्तै भएको छ।

दिलीपका बुबा रामबहादुर भुजेलका अनुसार स्वयम्भूमा एक तिब्बतीयन नागरिकको घरमा काम गर्ने उनका जेठान रामकुमारले भनेअनुसार नै दिलिपले कम्पनी खोलिदिएका हुन्।

कम्पनी र त्यसको कारोबारबारे भने उनी बेखबर थिए। मामाले कम्पनी कसलाई चलाउन दिएका थिए, दिलीपलाई त्यो पनि थाहा छैन। जेठानले गर्ने कामका बारेमा पनि रामबहादुर पूर्ण जानकार छैनन्। यद्यपि कम्पनी खोलिसकेपछि बैंक खाता समेत खोलेर चेक र केही कागजमा हस्ताक्षर गर्ने लगायतका काम सकिएपछि दिलिपलाई २० हजार रुपैयाँ दिइएको थियो। यति ठूलो तस्करीको अभियोग लागेको उनले पाएको यति हो।

रामबहादुरका अनुसार उनको जेठानकै विश्वास गर्दा छोरा तस्करी अभियोगमा हिरासतमा भए पनि जेठानको आर्थिक अवस्था पनि उस्तै हो।

‘जेठानले कोठमा भाडा तिर्न नपाएको कति भइसक्यो,’ उनले भने, ‘जेठान र मसँगै ज्यामी गर्थ्यौ।’

जेठानले तिब्बतीयनको घरमा काम गर्ने बारेमा उनी पूर्णरूपमा जानकार छैनन्। दिनभरी ज्यामी कामको आशामा सडकमा भैतारिनु पर्ने उनलाई यति बेला छोरा हिरासतमा भएर अर्को आपत आइलागेको छ। छोराको माया लाग्छ। भेट्न जान्छन्, के गर्ने कसो गर्ने उनले केही मेसो पाउन सकेका छैनन। छोरालाई बाहिर कसरी निकाल्न सकिन्छ, उनले केही बुझेकासम्म छैनन्। न त उनी छोरालाई हप्काउन सक्छन्। ‘भेट्न जाँदा केही मलिन अनुहार देख्दा माया लाग्छ । मैले केही गरेको छैन भन्छ। गरे जस्तो पनि लाग्दैन,’ उनले छोरा भेट्दाको अनुभव सुनाए।

‘छोरालाई सुन तस्करी आरोपमा पक्राउ गर्यो भन्ने सुन्दा म भकुण्डेबेँसीमा ज्यामी काम गर्दै थिएँ, त्यो खबर सुनेपछि के गर्ने सोच्नै भ्याइन र गाउँ गएँ। गाउँ गएर पनि कसैलाई केही भनिन्, घरमा परिवारलाई भने,’ उनले सुरुका दिन सुनाए। त्यसपछि के गर्ने भन्दै उनी काठमाडौं आएर छोरालाई भेटे। भेटमा बाबु छोराको केही कुरा भएन। भन्ने कुरा पो के नै थियो र मैले कम्पनी खोल्ने भनेर नागरिकता दिएको हो। के कम्पनी खोल्ने के काम गर्ने केही थाहा भएन, भेटमा छोराले भनेको सम्झँदै उनले भने, मामाले कागजमा सही गर भने, गरिदिएँ।

२० हजार पाउने भनेर सही गरेको हुँ। २० हजार लिएँ । छोराले लिएको २० हजार के ग¥यो उनले सोधेनन्। न त यस्तो काम किन गरेको भनेर छोरालाई हप्काउने आँट नै आयो। दोलखामा उनको टिनले बारेको सानो घर छ।

रामबहादुरको काठमाडौं बसाईं पनि कम कष्टकर छैन। उनले आफैँ कोठा समेत भाडामा लिन सकेका छैनन्। आफू जस्ता चार–पाँच जना मिलेर एउटै कोठमा बस्ने गरेको उनले आफ्नो पिडा सुनाए। गाउँ गयो, फर्केर आउँदा कोठमा सँगै बस्ने साथी अर्को हुन्थे’ उनले भने, आफैँ भाडामा लिएर बस्न सकिन्न। काम र कमाइको ठेगान भए पो भाडामा कोठा लिनु।

उनलाई आफ्नो मनमा भने छोरा निस्कन्छ भन्ने छ। प्रहरीले राम्रोसँग छानबीन गरोस्।

यर्थाथ पत्ता लगागोस् भन्ने छ। छोराले सुन तस्करी गरेको हो भन्ने प्रमाण र आधार देखियो भने जेल बस्छ। दोषी नै हो भन्ने प्रमाण भए जेल बस्यो भने केही भन्न पनि सकिन्न त्यसमा हाम्रो सहमत छ। जो ग¥यो भोग्यो भनौला।

उनले भने, मलाई छानविनमा केही भन्नु छैन त्तथ्य आयोस्। त्यतिका सम्पत्ती भए म दिनभरी ज्यामी कामको खोजिमा भौतारिन्थे होला। उनले उल्टै प्रश्नहश्र हामीसामू तेस्र्याए। उनलाई विश्वास छ, आफ्नो आर्थिक अवस्था र काम हेरेर प्रहरी, कानुन र सरकारले पक्कै छोरालाई न्याय दिनेछ भन्नेमा।

सय किलो सुन तस्कारी प्रकरणमा गएको सोमबार सम्ममा १८ जना पक्राउ परेका छन्। यही प्रकरणले संसद्समेत अवरुद्ध छ। यो पहिलो भने होइन यस्ता विषयमा कैयौँ पटक अपराधीले उन्मुक्ति पाउने र निर्दोषलाई दोषी प्रमाणित गर्न लोभलालच देखाउन सम्मका काम हुने गरेका छन्।

योपटक विगतका जस्ता कुनै कार्य नहोस् र नेपालको विमानस्थलबाट गैरकानुनी रूपमा आएका हात्ती होइन, सियो पनि छिर्दैन भन्ने कुराको आम मान्छेलाई विश्वास दिलाइयोस्।

फेरी पनि दिलीपजस्तो सोझा र निमुखालाई बलिको बोका बनाउन खोज्नेलाई कडा भन्दा कडा कारबाही होस्।