एजेन्सी
एसियन च्याम्पियन्स लिगको समूहगत चरणमा साउदी अरेबियाको क्लब अल हिलाल र भारतको मुम्बई सिटी एउटै समूहमा परेका छन्। यी दुबै क्लब एसियन च्याम्पियन्स लिगको समूह ‘डी’ मा रहेका छन्।
ब्राजिलियन फुटबल स्टार नेयमार हाल साउदी क्लब अल हिलालबाट व्यवसायिक फुटबल खेल्छन्। उनी यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर साउदी क्लबमा आबद्ध भएका हुन्। त्यसैले एसियन च्याम्पियन्स लिगमा मुम्बई सिटीविरुद्घको खेल खेल्न अल हिलालसँगै ३१ वर्षीय नेमार पनि भारत आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यद्दपि, अल हिलालले यस विषयमा केही बताएको छैन। एसियन च्याम्पियन्स लिगको उक्त खेल पुणेमा खेलिने छ। मुम्बई सिटीको घरेलु मैदान भने अन्धेरी स्पोर्टस कम्प्लेक्स हो। तर, त्यो रंगशाला एसियन च्याम्पियन्स लिगको मापदण्ड अनुसारको नरहेकाले खेल पुणेमा खेलाउन लागिएको हो।
एसियन च्याम्पियन्स लिगको समूहगत चरणको खेल आगामी सेप्टेम्बर १८ तारिखदेखि सुरु हुँदैछ। तर, मुम्बई सिटी र अल हिलालबीचको खेलको मिति भने सार्वजनिक भइसकेको छैन। समूह ‘डी’ मा अल हिलाल र मुम्बई सिटीका अतिरिक्त उज्बेकिस्तानको नभबाहोर र इरानको नस्साजी मजानदरान पनि रहेका छन्। स्पेनिस ‘पावर हाउस’।
बार्सिलोनाका पूर्वखेलाडी नेयमारले हालसम्म भारतमा कुनै खेल खेलेका छैनन् । एसियन च्याम्पियन्स लिगमा अल हिलाल बलियो क्लब हो ।