विहीबार, ३२ साउन २०८०, दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रामेछापको दोरम्बा शैलुङमा पुगेका छन्।
२० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हेलिकप्टर मार्फत दोरम्बा शैलुङ गाउँपालिका पुेगेका छन्। दोरम्बाको डाँडाकटेरी स्थित सहिद पार्कमा सुरु भएको श्रद्धाञ्जली सभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए। प्रधानमन्त्री सभामा सहभागी हुने भएपछि ठुलो जनसमुदाय श्रद्धाञ्जली सभामा सहभागी भएका छन्।
दोरम्बा दोलखा र रामेछाप जोड्ने पालिका हो। श्रद्धाञ्जली सभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड, नेकपा माओवादी केन्द्र बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल लगायतका शिर्षस्थ नेताहरु पनि पुगेका छन्। तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जना सेनाको आक्रमणबाट मारिएका थिए। सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेको थियो। दोरम्बा हत्याकाण्डपछि माओवादीले राजतन्त्र फालेर देशमा गणतन्त्र ल्याएकोे थियो।
