सोमबार, १८ भदौ २०८०, दोलखा। कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई आ्रइतबार पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो। अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ। पूर्ण इजलासमा सोमबारदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदा प्रदेशसभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेकै प्रदेशसभा सदस्यले समेत मत दिएपछि एमाले संसदीय दलका नेतासमेत रहनुभएका पूर्व मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

यसअघि भदौ ७ गते उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरे। गत शुक्रबार पनि पेसी तोकिएको उक्त रिट निवेदन न्यायाधीश खतिवडासहितको संयुक्त इजलासमा परे पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो।