शुक्रबार, ०५ असोज २०८०, दोलखा। शिक्षक आन्दोलनका कारण दोलखाका सवै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ।

दोलखाका शिक्षकहरु आन्दोलनकालागि विद्यालय बन्द गरेर काठमाडौं गएपछि पठनपाठन ठप्प भएको हो।

आन्दोलनका कारण जिल्लाका ३ सय ३७ विद्यालय बन्द भएका हुन् । दोलखा जिल्लामा ८४ वटा माध्यमिक, ५१ वटा आधारभूत र २०२ प्राथमिक विद्यालय रहेकोमा सवै विद्यालय शिक्षक आन्दोलनका कारण बन्द भएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख संकरबाबु श्रेष्ठले जानकारी दिए। शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा जिल्लाका २९ हजार ८ सय २ बिद्यार्थीको पठनपाठन प्रभावित भएको छ। पढाई हुने आशामा विद्यालय पुगेका कतिपय विद्यार्थीहरु त्यतिकै घर फर्किन बाध्य भएका छन्।

संघीय राजधानी काठमाडौं नजिकै रहेको हिमाली जिल्ला दोलखाका शिक्षकहरु मंगलवारदेखि नैं काठमाडौं केन्द्रित भएका हुन्। काठमाडौं उपत्यका आसपासका जिल्लाका शिक्षकहरुलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनि शिक्षक महासंघले गरेको निर्देशन अनुसार दोलखाका अधिकाँश शिक्षक आन्दोलनमा सहभागी भएका छन्। स्थायी, अस्थायी, राहत शिक्षकहरुसँग विद्यालयका कर्मचारीहरु पनि आन्दोलनका लागि काठमाडौं गएका छन्।

यसैवीच, दोलखाको जिरी नगरपालिकाको शिक्षक महासंघले आन्दोलनमा नजाने शिक्षकलाई प्रति दिन एक हजार जरिवाना गर्ने भएको छ। असोज ३ गते विहान ११ बजेभित्र काठमाडौं पुग्नु पर्ने भन्दै आन्दोलनमा नजाने शिक्षकले प्रति दिन एक हजार आर्थिक दायित्व बुझाउनु पर्ने र त्यसको समन्वय सम्वन्धित विद्यालयका प्रधानाध्यापकले गर्ने शिक्षक महासंघ जिरीले निर्णय गरेको हो।

शिक्षक आन्दोलनका कारण दोलखाका विद्यालय बन्द भएर सामुदायिक विद्यालयका करिव २९ हजार बिद्यार्थी पढ्नवाट वञ्चित भईरहँदा जिल्लाका ३९ निजी विद्यालयका ५ हजार ९ सय ८५ विद्यार्थीहरुको भने नियमित पठनपाठन भईरहेको छ।