मंगलबार, १६ असोज २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हिन्दु राष्ट्रसहित आफ्नो एजेण्डा स्थापित गर्ने उद्देश्यका साथ आन्दोलन गर्ने भएको छ। त्यसका लागि राप्रपाले कार्ययोजना तय गर्न लागेको छ।

राप्रपाको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले महामन्त्री डा धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलन सम्बन्धी कार्ययोजनालाई अन्तिमरुप दिने निर्णय गरेको छ।

त्यसका लागि वरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्रीद्वय डा धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बैठकले दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ।

यस्तै मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेशस्तरीय विरोध प्रदर्शन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय समेत गरेको छ।