काठमाडौं, फागुन २८

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर–७२ जहाजलाई औपचारिक रूपमा विदाई गरेको छ ।

जहाजको पूर्ण सञ्चालन क्षमता पूरा भएपछि कलसाइन नाइनएन एजेओ रहेको उक्त विमानलाई सेवाबाट हटाइएको कम्पनीले जनाएको छ ।

एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार ‘साइकल’ हुन्छ । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाइन्छ ।

उक्त विमान २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवा-काठमाडौंसम्म गरिएको थियो । १६ वर्षको सेवा अवधिमा यस जहाजले २४ लाख ८२ हजार ७७२ जना यात्रु बोकेको कम्पनीले जनाएको छ ।

विदाई समारोहमा कम्पनीका कार्यकारी अध्यक्ष बिरेन्द्र बस्नेतले उक्त जहाजले नेपालको हवाई यात्रालाई सुगम, किफायती र वातावरणमैत्री बनाउन ठूलो योगदान दिएको बताए । उनले भने, ‘यस विमानले बुद्ध एयरको बजार विस्तार र प्रतिष्ठा दुवै बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौँ ।’

त्यस्तै नागरिक उड्डयन प्राधिकरणका जनरल म्यानेजर टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता, उत्कृष्ट मर्मत–सम्भार र व्यवस्थापनका कारण उक्त जहाजलाई सफलतापूर्वक विदाई गर्न सम्भव भएको बताए ।

यसअघि बुद्ध एयरले १० सेप्टेम्बर २०२४ मा एटीआर–४२ जहाजलाई पनि सेवाबाट विदाई गरेको थियो । हाल बुद्ध एयरले देशभर आन्तरिक उडान सञ्चालन गर्नुका साथै पोखरा बाट सिधै नेपालगञ्ज, भैरहवा र भरतपुरमा उडान गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ कम्पनीले भारतका बनारसी र कलकत्तासम्म सेवा दिइरहेको छ।