साउन ११, २०७९, काठमाडौं  ।  विराटनगरको एउटा कलेजमा स्टाफ नर्स पढिरहेकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विराटनगरका विनोद राउत र सुरज सुवेदी पक्राउ परेका थिए। उनीहरू दुवै जना राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका प्रशिक्षक हुन्।

पक्राउ परेका आरोपीमध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामै गएर जबरजस्ती गरेको आरोप छ।

बलात्कार आरोपमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षकले पीडित किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसको भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको खुलेको छ।

कोठाबाहिर किशोरी पानी लिन गएको मौका छोपी सुवेदीले मापसे गर्नुभन्दा अगाडि ती युवतीलाई नसामा लठ्ठ बनाउन बियरमा केही औषधी हालेर पिलाइदिएको प्रहरी भनाइ छ।

मोरङ प्रहरीका अनुसार एक वर्ष अघिदेखि ती किशोरी र सुवेदी परिचित थिए। कलेजले लिने परीक्षामा ती किशोरीलाई सुवेदीले सहयोग गरेका थिए। सहयोग गरेको बहानामा गएको जेठमा सुवेदी किशोरीको कोठामा गएका थिए। पहिला नै चिनजान भएकाले उनीहरूले त्यहीँ मादकपदार्थ सेवन गरेका थिए।

त्यसपछि युवती होसमा नभएको अवस्थामा बलात्कार गरेको र भिडिओ खिचेको अनि त्यही भिडिओ देखाएर सुवेदी र उनका साथी विनोद राउतले उनीमाथि जबरजस्ती गरेको पाइएको प्रहरी भनाए छ। 

त्यसअघि नसालु पदार्थ खुवाएर बलात्कार गरेको भिडिओ बनाएर सार्वजनिक गरिदिने डर देखाउँदै सुवेदी र राउतले पटक-पटक बलात्कार गरेको पनि आरोप छ।

‘गएको जेठमा उनले  विराट नर्सिङ होम अगाडिको एक होटलमा लगेर जबरजस्ती करणी गरे,’ पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

हल्ला गरे भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै सुवेदी र राउतले त्यसपछि पटक-पटक होटलमा लगेर जबरजस्ती गरेको जाहेरीमा उल्लेख छ।

डेरामा सुवेदीले जबरजस्ती गरेपछि भिडिओ बनाएको र हल्ला गरे सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए।