कांग्रेस बैठकमा रविको मुद्दाबारे चर्चा


कृष्ण बुढाथोकी

विहीबार, १८ फागुन २०७९, दोलखा । अमेरिकाबाट नेपाल फर्किँदा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नजाँदा सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई यतिबेला राहदानी मुद्दा टाउको दुखाइको विषय बनेको छ । 

शनिबार राष्ट्रपतिका उम्मेदवारसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लामिछानेलाई भेटेर भोट मागेका थिए । लामिछानेले पौडेललाई सकारात्मक जवाफ दिएका थिए । सोही दिन कांग्रेस सभापति देउवाले लामिछानेलाई फोन गरेका थिए । सरकारबाट समर्थन फिर्ता नलिएको उल्लेख गर्दै लामिछानेले मिलेर जान आफू तयार भएको देउवालाई बताएका थिए ।

उनले सांसद पद गुमाएका कारण चितवन–२ मा रिक्त सिटका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । सो उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका उनी राहदानी मुद्दाबाट छुटकारा खोजिरहेका छन् । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग लामिछानेले छलफल गरिरहेको स्रोत बताउँछ ।

लामिछानेले राहदानी मुद्दा र उपनिर्वाचनबारे पनि देउवासँग कुराकानी गरेको कांग्रेस नेताहरू बताउँछन् । यस विषयमा लामिछानेका अलावा रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले पनि कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् ।

पुरानो गठबन्धन ब्य उँताउने तयारीमा रहेका प्रचण्डसँग फागुन ८ मा लामिछानेले भेटवार्ता गरेका थिए । त्यसपछि पनि उनी प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमै छन् ।

राष्ट्रपति निर्वाचनअघि लामिछानेले देउवालाई भेटेर कुराकानी गर्न खोजिरहेको स्रोत बताउँछ । यता प्रधानमन्त्री प्रचण्ड पनि रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा सकारात्मक देखिन्छन् ।

प्रचण्डसँगको कुराकानीमा लामिछानेले राहदानी मुद्दालाई केन्द्रमा राख्ने गरेको बालुवाटार स्रोत बताउँछ । ‘रविजीलाई आफ्नो मुद्दाको सबैभन्दा ठुलो चासो छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । कहिले आफै र कहिले आफ्नो विश्वासपात्र मार्फत उनले सहयोग मागिराखेको स्रोतको दाबी छ । 

देउवा निकट कांग्रेसका एक नेताले पनि लामिछानेले मुद्दा मिलाउन गुहार मागिरहेको रातोपाटीलाई बताए । ती नेताका अनुसार बुधबारको कांग्रेस शीर्ष नेताको बैठकमा रविको राहदानीको विषयले प्रवेश पाएको थियो ।

‘रवि लामिछानेले मुद्दा मिलाउन सहयोग गर्नुपर्‍यो, सरकारलाई आवश्यक सहयोग गर्न तयार छौँ । राष्ट्रपतिमा पनि मत दिन्छौँ भनेको कुरा हाम्रो बैठकमा आयो,’ बैठकमा सहभागी ती नेताले भने । प्रधानमन्त्री प्रचण्डले रविको मुद्दा मिलाएर रास्वपालाई सरकारमा सामेल गर्नुपर्ने संकेत दिएको ती नेताको भनाइ छ ।

ती नेताले आफू भने रवि लामिछानेको मामिलामा संलग्न हुन नहुने पक्षमा रहेको र सोही मत बैठकमा राखेको रातोपाटीलाई बताए । ‘हामीलाई पनि मुद्दा मिलाइदिन आग्रह गर्नुभएको थियो,’ ती नेताले भने, ‘तर मैले यसमा नदुखेको टाउको दुखाउनु हुँदैन । उनको मुद्दा उनी आफै मिलाउँछन् भनेँ ।’

उनले भने, ‘रवि लामिछाने प्रचण्डजीसँग संवादमा रहेको देखिन्छ । प्रचण्डजी उहाँलाई सँगै लिएर जानुपर्ने भन्नुहुन्छ ।’ 

पार्टीका केही नेताले लामिछानेको मुद्दा मिलाएर गठबन्धन बलियो बनाउनुपर्ने धारणा राखेपछि आफूले प्रतिवाद गरेको ती नेताको भनाइ छ ।

माओवादी केन्द्रका एक मन्त्रीले पनि लामिछाने प्रधानमन्त्रीसँग निरन्तर सम्पर्कमै रहेको पुष्टि गरे । ‘रविजी प्रधानमन्त्रीज्यूको सम्पर्कमै हुनुहुन्छ,’ ती मन्त्रीले भने, ‘तर, छलफलको विषय प्रधानमन्त्रीज्यूले खुलाउनु भएको छैन ।’

माघ २२ मा सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । गत आइतबार बसेको रास्वपा बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको थियो ।

लामिछानेले आफ्नो मुद्दा मिलाउन प्रधानमन्त्रीबाट सहयोग हुने अपेक्षा राखेर सरकारको समर्थन कायमै राखेको ती मन्त्रीको बुझाइ छ । ‘उहाँको पार्टी सरकारबाट बाहिरिएको अवस्था छ,’ उनले भने, ‘तर सरकारलाई दिएको समर्थन भने उहाँहरूले कायमै राख्नुभएको छ । मुद्दा मिलाउन मद्दत पुग्छ कि भनेर पनि समर्थन कायम राखेको हुन सक्छ ।’

संवैधानिक परिषद्को बैठकमा बहुमत जुटाउन र विपक्षी मोर्चा बलियो हुन नदिने रणनीति अनुसार प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमै पुनः लिन खोजेको देखिन्छ ।

यता रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्रीसँग भेटघाट भइरहेको बताए । तर राहदानीको मुद्दा मिलाउन वा चुनावमा सहकार्य गर्ने गरी छलफल नभएको उनले बताए ।

चितवन–२ को उपचुनावमा दलहरुबीच सहमति भएमा मिलेर जान रास्वपा तयार नै रहेको उनको भनाइ छ । ‘सबै विषयमा सहमति भएमा मिलेर जाने पनि हुन सक्छ,’ उनले भने, ‘राज्य सञ्चालन गर्न पार्टी बनाएको हो । राजनीतिक स्थिरताका लागि मिलेर जाने भन्ने भएमा सहकार्य हुन सक्छ ।’

राहदानी मुद्दा मिलाउन मिल्छ ?

लामिछनेसँग एकै समयमा दुई देशको पासपोर्ट भएको तथ्य सार्वजनिक भइसकेको छ । लामिछाने अमेरिकी नागरिक बनेपछि खारेज भइसकेको नेपाली नागरिकता (२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी) प्रयोग गरी २७ मे २०१५ मा ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । त्यतिबेला उनी नातेदार भिसामा ५१२९६६९८१ नम्बर अमेरिकी राहदानी बोकेर नेपाल आएका थिए । एक देशको पासपोर्ट भइरहेका बेला अर्को देशको पासपोर्ट लिनु कानुन सम्मत नभएको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए ।

झुटो विवरण देखाएर पासपोर्ट (राहदानी) लिएको आरोपमा लामिछानेमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । रविको पासपोर्टबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए । युवराज सफलले ‘राहदानीबारे अनुसन्धान गरिपाऊँ’ भनेर सरकारी वकिलको कार्यालयमा माघ २४ मा निवेदन दिएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्था छ । सो दफा अनुसार राहदानी दुरुपयोगको अभियोगमा अदालतबाट दोषी ठहर भएमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।  भण्डारीका अनुसार उपनिर्वाचनबाट उनी निर्वाचित भएर आए पनि राहदानी मुद्दामा दोषी ठहर भए सांसद पद जान्छ ।

यस्तो अवस्थामा उपनिर्वाचनमा लामिछानेले उम्मेदवारी दिएमा सर्वोच्च अदालत र निर्वाचन आयोग बोल्नुपर्ने अवस्था आउँछ । तर अहिले लामिछानेलाई चुनावमा उम्मेदवार हुन कानुनले छेक्दैन । उनी भन्छन्, ‘पक्राउ अनुमति जारी भएको अवस्थामा पनि विद्यमान कानुनले लामिछानेलाई उम्मेदवार हुन रोक्दैन, अहिलेको अवस्थामा उहाँ उम्मेदवार हुन पाउनुहुन्छ ।’

उनका अनुसार यस्तो अवस्था प्रहरीले अनुसन्धान अगाडि बढाउनुपर्छ । ‘अनुसन्धान अगाडि बढ्दा लामिछानेसँग बयान लिने, म्याद जारी गर्ने, थुनामा राख्ने, अभियोगपत्र दायर गर्नुपर्‍यो । यो प्रक्रिया सरकारले अगाडि बढाइराखेको छैन,’ उनी भन्छन् । 

उनले भने, ‘सरकारले चाहेर मुद्दा ढिसमिस गर्न सकिने अवस्था छैन । तर मुद्दा नचलाइदिए उहाँलाई राहत भइहाल्छ । जाहेरी परेको छ । अब सरकारले मुद्दा चलाउनुपर्ने अवस्था छ । सरकारी वकिलले अनुसन्धान गरिराखेको भनेर लेखेरै दिनु भएको छ ।’

सम्बन्धित खबर