२०८० जेष्ठ ७, आईतबार
दोलखा । सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको छ । बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको छ । नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाउने भएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्री सहित चार मन्त्री सरकारमा रहेका छन् । यस्तै कांग्रेसबाट दुई जना सहभागी भइसकेका छन् ।
मन्त्रिपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सहित ४ र नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको थियो । भागबण्डा मिलेसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । आज कांग्रेसबाट थप चार मन्त्री सरकारमा सामेल हुँदै, तीन जनालाई विभागीय जिम्मेवारी दिने र एक जनालाई तत्काल बिना विभागीय जिम्मेवारीमा राखिने भएको छ ।
मन्त्रालय फुटाएर कार्य विभाजन नगरुन्जेल कांग्रेसका एक जना मन्त्रीलाई बिना विभागीय राखिने स्रोतले खुलाएको छ । नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने छन् । स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीलाई कृषि तथा पशुपक्षी मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय दिइने भएको छ । यस्तै, कांग्रेसलाई वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने सहमति जनाइएको छ । कांग्रेसका एक मन्त्रीलाई भने पछि विभागीय जिम्मेवारी दिइने छ ।
आजै दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण गराउने गरी तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।
© 2025, Online Bulletin