२०८० जेष्ठ ७, आईतबार
दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहि महिना जेष्ठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने जानकारी भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको देखिन्छ । औपचारिक घोषणा हुन भने बाँकी नै छ ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीमा दुवै देश जुटेको खुल्न आएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल अनुसार दुवै देशको सहमतिमा चाँडै नै मिति तय हुने साथै उनले भनिन्, ‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी सुरु भइ सकेको छ । विभिन्न सरोकारवाला तथा विज्ञहरूसँग छलफल पनि सुरु भएको छ, चाँडै नै दुवै देशको सहमतिमा मिति तय हुने जानकारी छ।’
परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् । उनीहरूलाई मन्त्रालयमा नै बोलाएर बिहीबार र शुक्रबार मन्त्री साउदले छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि भारत भ्रमणको तयारी थालिसकेको छ । विभिन्न मन्त्रालयका एजेन्डाहरू मगाएर त्यसमा छलफल गरिएको छ ।
भारत भ्रमणको क्रममा जलविद्युत, दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइन लगयातको विषयमा सहमति गर्ने तयारी भइ रहेको छ । केही एजेन्डामा प्रधानमन्त्री कार्यालयले सम्बन्धित विज्ञहरूसँग छलफल सुरु गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा सुरु भएको हो । तर नेपालमा राजनीतिक स्थिरता हुन नसकेको कारण भारत भ्रमण ६ महिना ढिलो भएको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति अगामी हप्ता घोषणा हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
